दशौँ राष्ट्रिय खेलकुदका लागि जुम्लामा खेलाडी छनोट सुरु

1.3k Shares

जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट सहभागी हुने खेलाडी छनोट गर्न जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा हुने राष्ट्रिय खेलकुदका लागि विभिन्न विधामा खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो।

जिल्ला खेलकुद विकास समितिका अनुसार एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबललगायत खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिनेछ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले कर्णालीको इज्जत र सम्मान बढाउन सक्ने उत्कृष्ट खेलाडी छनोट गर्न आग्रह गर्नुभयो। उहाँले खेलाडी छनोट प्रक्रिया निष्पक्ष र प्रतिस्पर्धात्मक हुनुपर्नेमा जोड दिँदै खेल क्षेत्रको विकास स्थानीय तहबाटै सुरु गर्नुपर्ने बताउनुभयो।

स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी आवश्यक प्रशिक्षण, अवसर र प्रोत्साहन दिन सके जुम्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो उपलब्धि हासिल गर्न सक्ने उहाँको भनाइ छ।

कर्णाली खेलकुद परिषद्का सदस्य तथा जुम्ला–कालिकोट जिल्ला संयोजक पंखबहादुर मल्लले राष्ट्रिय खेलकुदमा जुम्लाका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जुम्लाका खेलाडी हरिबहादुर रोकायाले कायम गरेको कीर्तिमान र खेल क्षेत्रमा बनाएको पहिचानलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्ने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले खेलाडीले आफ्नो प्रतिभा र मेहनतमार्फत जिल्ला, प्रदेश र देशको नाम उच्च बनाउन सक्ने भएकाले हरेक विधामा उत्कृष्ट तथा दक्ष खेलाडी छनोट गर्नुपर्ने बताउनुभयो।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले छनोट प्रतियोगिता निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रशिक्षक तथा निर्णायकलाई आग्रह गर्नुभयो। राम्रो प्रदर्शन गर्ने प्रतिभावान खेलाडी कुनै पनि अवस्थामा छनोटबाट छुट्न नहुने उहाँको भनाइ छ।

सम्बन्धित समाचार