उडानमै विमान खसाल्ने प्रयासपछि फ्लाईदुबईका सहपाइलटमाथि अनुसन्धान तीव्र

1.2k Shares

काठमाडौं । दुबईबाट इजरायलतर्फ उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले ककपिटभित्र पाइलटमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेको घटनाले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

सेप्टेम्बर ३० मा फ्लाईदुबईको एफजेड–१०७३ उडानका क्रममा सहपाइलटले आपत्कालीन अवस्थामा प्रयोग हुने ‘क्र्यास एक्स’ ले क्याप्टेनमाथि आक्रमण गरेको आरोप छ। त्यसपछि विमान करिब १६ हजार फिटसम्म तीव्र गतिमा तल झरेको थियो। पाइलटले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र अन्य चालक दलका सदस्यले हस्तक्षेप गरेका थिए। विमानलाई अन्ततः साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराइएको थियो।

घटनामा संलग्न सहपाइलटको पहिचान ओमानका नागरिक हम्माम अल–हमामीका रूपमा गरिएको छ। उनीमाथि यसअघि चरमपन्थी विचारसँग सम्बन्धित चिन्ताका कारण उडानमा प्रतिबन्ध लगाइएको थियो भन्ने अनुसन्धान स्रोतहरूले बताएका छन्। हाल उनी संयुक्त अरब इमिरेट्सको हिरासतमा रहेको बताइएको छ।

घटनापछि सहपाइलटको विगत, उनको उड्डयन करिअर र विभिन्न देशसँगको सम्बन्धबारे अनुसन्धान अघि बढाइएको छ। अस्ट्रेलियाको भिक्टोरियन संयुक्त प्रतिआतंकवाद टोलीले समेत उनी अस्ट्रेलियामा अध्ययनरत रहँदा भएका गतिविधि र सम्बन्धबारे अनुसन्धान गरिरहेको छ। उनले करिब एक दशकअघि मेलबर्नस्थित आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेको बताइएको छ।

यस घटनाले विमान चालकहरूको पृष्ठभूमि जाँच तथा अन्तर्राष्ट्रिय सुरक्षा सूचना आदानप्रदानको प्रक्रियामाथि पनि प्रश्न उठाएको छ। विशेषगरी ओमान र इजरायलबीच कूटनीतिक सम्बन्ध नभएको अवस्थामा ओमानी नागरिक सहपाइलट इजरायलतर्फ जाने उडानमा कसरी नियुक्त भए भन्ने विषय अनुसन्धानको प्रमुख पाटो बनेको छ।

घटनाका क्रममा विमानमा १७० भन्दा बढी यात्रु तथा चालक दलका सदस्य थिए। विमान तीव्र रूपमा तल झरेपछि यात्रुहरूमा त्रास फैलिएको थियो। ककपिटमा भएको संघर्षपछि पाइलटले विमान नियन्त्रणमा ल्याउन सफल भएका थिए भने यात्रुहरूमध्ये केहीले समेत हस्तक्षेप गरेका थिए।

संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले घटनालाई ‘आतंकवादी आक्रमण’ का रूपमा अनुसन्धान गरिरहेका छन्। यद्यपि सहपाइलटले एक्लै यस्तो कदम चालेका थिए वा कुनै समूह वा अन्य व्यक्तिको निर्देशनमा काम गरेका थिए भन्ने विषयमा अनुसन्धान जारी छ।

घटनापछि इजरायलले विदेशी विमानका चालक दलको सुरक्षा जाँच थप कडा बनाउने विषयमा समीक्षा थालेको छ। अन्तर्राष्ट्रिय उड्डयन सुरक्षामा देखिएका सम्भावित कमजोरी पहिचान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने आवाजसमेत उठेको छ।

 
 
सम्बन्धित समाचार