होटल निर्माणमा सरकारी जग्गा प्रयोगको प्रयास? नापी कार्यालयमा निवेदन परेपछि विवाद

1.2k Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा रहेको होटल डायमण्ड प्यालेसको पुनर्निर्माण तथा संरचना थप गर्ने क्रममा सरकारी बाटो रहेको जग्गालाई सट्टापट्टामार्फत मिलाउन खोजिएको आरोप लागेको छ।

सुरेन्द्रबहादुर सिंहको क्यासिनोसहितको होटलका रूपमा रहेको डायमण्ड प्यालेसबाट दरबार बुटिक बनाइएको उक्त होटल अहिले भत्काएर नयाँ संरचना निर्माण भइरहेको छ। तर, निर्माण भइरहेको क्षेत्रको बीच भागमा सरकारी बाटो रहेको र उक्त बाटोसमेत समेटेर होटलको संरचना विस्तार गर्न खोजिएको आरोप स्रोतले लगाएको छ।

सरकारी बाटो मिचेर होटल निर्माणका लागि होटल सञ्चालक सिंहले नापी कार्यालय कञ्चनपुरका प्रमुख जनकराज भट्टसँग भनसुन गरेको स्रोतको दाबी छ। यही विषय मिलाउन काठमाडौंका शैलेन्द्र सिम्खडासमेत महेन्द्रनगर पुगेको स्रोतले जनाएको छ।

केही दिनअघि एक महिलासहित महेन्द्रनगर पुगेका सिम्खडाले बाटो सट्टापट्टाको विषय मिलाउन विभिन्न व्यक्तिसँग भेटघाट तथा छलफल गरिरहेको स्रोतको दाबी छ। बाटो सट्टापट्टाको प्रक्रिया अघि बढाउन भीमदत्त नगरपालिका–५ का वडाध्यक्षको सहमति आवश्यक पर्ने र नापी कार्यालयबाट समेत प्रक्रिया अघि बढाउनुपर्ने भएकाले तत्कालका लागि उक्त प्रयास रोकिएको देखिएको स्रोतले जनाएको छ।

यस विषयमा जानकारी नापी विभागसम्म समेत पुगेको बताइएको छ। सरकारी बाटोको अवस्था र त्यसलाई सट्टापट्टामार्फत व्यवस्थापन गर्न खोजिएको विषयमा सम्बन्धित निकायले चासो देखाएको जनाइएको छ।

यता नापी कार्यालय कञ्चनपुरका प्रमुख जनकराज भट्टले भने आफूले कुनै किसिमको ‘सेटिङ’ नगरेको बताएका छन्। उनले आफ्नो कार्यालयमा बाटो सट्टापट्टाका लागि निवेदन दर्ता भएको भने स्वीकार गरेका छन्।

भट्टका अनुसार बाटो सट्टापट्टासम्बन्धी प्रक्रिया कार्यालयमा निवेदन परेपछि मात्रै अघि बढ्ने विषय हो। उनले आफूले व्यक्तिगत रूपमा कुनै मिलेमतो वा सेटिङ नगरेको स्पष्ट पारेका छन्।

यसैबीच, पूर्ववडाध्यक्ष तथा होटल सञ्चालक सुरेन्द्र सिंहका भतिजा लालबहादुर शाहीले समेत उक्त विषयमा सहयोगी भूमिका निभाइरहेको स्रोतले जनाएको छ।

सरकारी बाटोको जग्गा निजी संरचना निर्माणका क्रममा प्रयोग गर्न खोजिएको हो वा कानुनी प्रक्रियाअनुसार सट्टापट्टाको प्रस्ताव अघि बढाइएको हो भन्ने विषय भने सम्बन्धित निकायको थप छानबिनपछि स्पष्ट हुने देखिन्छ।

सम्बन्धित समाचार