पचरौताबाट आठ हजार किलो हरियो केराउ बरामद, बिल र भ्याट बिल भएकाे व्यवसायीकाे दाबी

834 Shares

रौतहट । बाराको पचरौता नगरपालिका–६ पकडियास्थित एक खाद्यान्न गोदामबाट ठूलो परिमाणमा हरियो केराउ बरामद भएको छ। 

सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा १६३ बोरा अर्थात् ८ हजार १५० किलो हरियो केराउ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश प्रमुख डिआईजी बिष्णु भट्टका अनुसार बरामद केराउको मूल्य ७ लाख ३३ हजार ५ सय रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका प्रमुख एसपी विशाल सिलवाल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले पचरौता–६ पकडियास्थित सचितानन्द रौनियारको रौनियार गल्ला तथा खाद्यान्न भण्डारमा खानतलासी गरेको थियो।

सशस्त्र प्रहरी प्रवक्ता डिएसपी विक्रममणि अधिकारीले विशेष सूचनाका आधारमा गोदाममा खानतलासी गर्दा १६३ बोरा हरियो केराउ फेला परेको जानकारी दिए।
उनका अनुसार बरामद केराउ वैधानिक रूपमा खरिद तथा भण्डारण गरिएको हो वा होइन भन्ने विषय भन्सार कार्यालयबाट हुने कागजात तथा अन्य परीक्षणपछि यकिन हुनेछ।

यता, व्यवसायी पक्षले भने बरामद गरिएको केराउ वैधानिक रूपमा खरिद गरी गोदाममा राखिएको दाबी गरेको छ। व्यवसायी पक्षका अनुसार केराउ खरिदको बिल, भ्याट बिललगायत आवश्यक कागजात आफूहरूसँग रहेका छन्। कागजात हुँदाहुँदै पनि विशेष सूचनाका आधारमा सामान नियन्त्रणमा लिइएको भन्दै व्यवसायी पक्षले घटनाप्रति आपत्ति जनाएको छ।

व्यवसायी पक्षले राजनीतिक पूर्वाग्रहका कारण गलत सूचना दिइएको दाबी गर्दै खरिद बिल, भ्याट बिल तथा अन्य कागजातको निष्पक्ष परीक्षण गर्न माग गरेको छ।कागजात वैध रहेको पुष्टि भए नियन्त्रणमा लिइएको केराउ कानुनबमोजिम फिर्ता गर्नसमेत व्यवसायी पक्षले सम्बन्धित निकायसँग आग्रह गरेको छ।

सशस्त्र प्रहरीले भने विशेष सूचनाका आधारमा खानतलासी गरी केराउ बरामद गरिएको जनाएको छ। बरामद केराउको आयात, खरिद तथा भण्डारण प्रक्रिया कानुनसम्मत भए–नभएको विषय अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ।

अब वीरगञ्ज भन्सार कार्यालयले बरामद केराउसँग सम्बन्धित बिल, भ्याट बिललगायत कागजात परीक्षण गर्नुका साथै यसको स्रोत र आयातसम्बन्धी विवरणसमेत जाँच गर्नेछ। उक्त परीक्षणपछि मात्रै केराउ वैधानिक रूपमा भण्डारण गरिएको हो वा भन्सारसम्बन्धी कसुरमा परेको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार