काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सहसचिव रितेश शाक्य नियुक्त भएका छन्।
सरकारले शाक्यलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो। प्रशासन तथा आर्थिक क्षेत्रका विभिन्न निकायमा जिम्मेवारी सम्हालिसकेका शाक्यलाई चाडपर्वको मुखमा बजार अनुगमन र उपभोक्ता संरक्षणको जिम्मेवारीसमेत चुनौतीपूर्ण हुने देखिएको छ।
शाक्यले यसअघि राष्ट्रपतिको कार्यालयसहित विभिन्न सरकारी निकायमा जिम्मेवारी सम्हालिसकेका छन्। सहसचिव भएपछि उनले जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा पनि काम गरेका थिए।
उनले आन्तरिक राजस्व विभागको महानिर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। त्यसैगरी अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखका रूपमा काम गर्दा बजेट निर्माण तथा कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीमा रहेका थिए।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेका बेला अर्थ मन्त्रालयका तर्फबाट बोर्ड सदस्य रहेका शाक्यलाई सरकारले कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो। उनले नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरेका थिए।
विभिन्न प्रशासनिक तथा आर्थिक निकायमा काम गरेको अनुभव रहेका शाक्यको नेतृत्वमा वाणिज्य विभागको बजार अनुगमन तथा उपभोक्ता संरक्षणसम्बन्धी कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी चाडपर्व नजिकिँदै गर्दा बजारमा कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा उपभोक्ता ठगीको जोखिम बढ्ने गर्छ। यस्तो समयमा विभागले नयाँ नेतृत्व पाएसँगै बजार अनुगमनलाई तीव्रता दिने र अनुचित व्यापारिक गतिविधिमाथि निगरानी बढाउने अपेक्षा गरिएको छ।
अब शाक्यको नेतृत्वमा विभागले बजारको आपूर्ति व्यवस्था, मूल्य अनुगमन तथा उपभोक्ता हित संरक्षणलाई कसरी अघि बढाउँछ भन्ने चासोसमेत बढेको छ।