राष्ट्रिय खेलकुदका लागि कालिकोटबाट खेलाडी खोजिँदै, छनोट प्रतियोगिता सुरु

1.6k Shares

कालिकोट । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ।

कालिकोट सदरमुकाम मान्ममा आयोजित कार्यक्रमबीच जिल्ला स्तरीय छनोट प्रतियोगिताको उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य तथा कालिकोट–जुम्ला जिल्ला संयोजक पंखबहादुर मल्लको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने प्रमुख अतिथि तथा पूर्वकृषि मन्त्री कुर्मराज शाही विशेष अतिथिका रूपमा सहभागी थिए। प्रमुख जिल्ला अधिकारी भविला भट्टराई, खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीसहित खेलकुद क्षेत्रका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा सरोकारवालाको सहभागिता थियो।

उद्घाटन कार्यक्रममा वक्ताहरूले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नहेरी युवाको क्षमता विकास, अनुशासन र स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। जिल्लास्तरबाटै प्रतिभावान् खेलाडी पहिचान गरी अवसर प्रदान गर्न छनोट प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने उनीहरूको भनाइ थियो।

परिषद्का सदस्य मल्लले कालिकोटमा रहेका प्रतिभावान् खेलाडी पहिचान गरी प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा छनोट प्रतियोगितालाई लिन आग्रह गरे।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल विधा समावेश छन्। कालिकोटबाट पनि विभिन्न खेल विधामा उत्कृष्ट खेलाडी छनोट गरिने राष्ट्रिय रेफ्री मदनकुमार शाहले जानकारी दिए।

जिल्लास्तरीय छनोटबाट उत्कृष्ट खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले असोज २६ देखि ३१ गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।

यसैबीच कालिकोटमा पुरुष भलिबलको प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि बिहान ७ बजेदेखि सञ्चालन हुने जनाइएको छ। जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

छनोट प्रक्रिया सुरु भएसँगै कालिकोटका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीमा उत्साह थपिएको छ। जिल्लाका स्थानीय तहदेखि नै प्रतिभावान् खेलाडी पहिचान गरी आवश्यक अवसर र प्रशिक्षण उपलब्ध गराउन सके कालिकोटबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार