कञ्चनपुर । लगातारको बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ र दोधारा चाँदनी नगरपालिका जोड्ने दोधारा–चाँदनी झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको छ। मङ्गलबार राति महाकाली नदीको बहावले पुलको एउटा पिल्लर भाँचिएपछि करिब दुई सय मिटर पुलको भाग नदीमा खसेको हो।
पुलको पिल्लर भासिएपछि उक्त मार्गबाट हुने आवतजावत पूर्ण रूपमा बन्द भएको छ। भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले ऐतिहासिक धरोहरका रूपमा रहेको पुलमा क्षति पुगेपछि स्थानीयको आवागमन प्रभावित भएको बताउनुभयो।
उहाँले पुलको तत्काल मर्मतका लागि स्थानीय तह र प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो। दोधारा चाँदनी र भीमदत्त नगरपालिका मिलेर पुल पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार लगातारको बाढीका कारण पुलका आठ पिल्लरमध्ये ३ नम्बर पिल्लर भाँचिएको हो। पिल्लर भाँचिएपछि करिब दुई सय मिटर पुलको भाग महाकाली नदीमा खसेको उहाँले जानकारी दिनुभयो।
पुलमा भएको क्षतिबारे सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जानकारी गराइसकिएको छ। मन्त्रालयले प्राविधिक टोली खटाएर पुलको अवस्था निरीक्षण गरी आवश्यक मर्मतको काम अघि बढाउने जनाएको छ।
विसं २०६१ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको यो झोलुङ्गे पुलको लम्बाइ एक हजार ४५२ मिटर छ। दोधारा–चाँदनी क्षेत्रका बासिन्दाका लागि लामो समयसम्म महत्वपूर्ण आवागमनको माध्यम बनेको यो पुल पछिल्लो समय पर्यटकीय आकर्षणका रूपमा समेत विकास हुँदै आएको थियो।
झोलुङ्गे पुलबाट करिब २.६ किलोमिटर दूरीमा महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएपछि स्थानीयले मुख्य आवागमनका लागि पक्की पुल प्रयोग गर्दै आएका छन्। तर, झोलुङ्गे पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको थियो।
होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले पुलमा भएको क्षतिले पर्यटनसँगै स्थानीय व्यवसायमा समेत असर पर्ने बताउनुभयो। उहाँका अनुसार दैनिक एक सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकनका लागि आउने गरेका थिए।
पुलको क्षतिको प्राविधिक मूल्याङ्कन गरी शीघ्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा ल्याउन उहाँले प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ।