काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रदायक इसेवाले ‘बाइ नाउ, पे लेटर’ (BNPL) सेवा सार्वजनिक गरेको छ। नयाँ सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्मबाट विद्युतीय स्कुटर खरिद गर्न वित्तीय सुविधा लिन सक्ने भएका छन्।
यसका लागि इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ। असोज ८ गते आयोजित कार्यक्रममा तीनवटै संस्थाका प्रतिनिधिले साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
साझेदारीअनुसार ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिद गर्दा इसेवा एपमार्फत नै BNPL सुविधा लिन सक्नेछन्। रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ।
इसेवाका अनुसार ग्राहकले एपबाटै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्। यस योजनाअन्तर्गत रिलायन्स फाइनान्सले अधिकतम २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउनेछ। कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ भने ग्राहकले अधिकतम ३६ महिनासम्मको किस्तामा कर्जा भुक्तानी गर्न सक्नेछन्।
यस सेवाले विद्युतीय स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ। डिजिटल माध्यमबाटै कर्जा तथा किस्ता प्रक्रियाको सुविधा उपलब्ध हुने भएकाले ग्राहकलाई खरिद प्रक्रिया थप सहज हुने कम्पनीको भनाइ छ।
इसेवाले BNPL सेवामार्फत डिजिटल वित्तीय सेवाको पहुँच विस्तारसँगै विद्युतीय यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने जनाएको छ। कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको प्रयोगले प्रदूषण न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्छ।
इसेवा, वित्तीय संस्था र विद्युतीय सवारीसाधन बिक्रेताबीचको यो सहकार्यले डिजिटल भुक्तानी, वित्तीय सेवा र विद्युतीय यातायातबीचको सम्बन्धलाई थप विस्तार गर्ने कम्पनीहरूको अपेक्षा छ।