काठमाडौं । अध्यागमन विभागका कम्प्युटर अपरेटर राजीव महतोविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गाभगवती गाउँपालिका–२ का ३१ वर्षीय महतोविरुद्ध अधिकारको दुरुपयोग गरी सरकारी विवरणमा गैरकानुनी रूपमा हेरफेर गरेको आरोपमा मुद्दा दायर गरेको हो।
अनलाइनखबरका अनुसार महतोमाथि लक्जम्बर्गका नागरिक पाउल क्रिस्टिन्सन पिरेरी गेडिज्टको नाममा रहेको नेपालको आवासीय भिसा अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा कायम गराएको आरोप छ। घटना सन् २०२४ फेब्रुअरीसँग सम्बन्धित रहेको जनाइएको छ।
अनुसन्धानअनुसार गेडिज्टको नाममा सन् २०१९ देखि विभिन्न समयमा आवासीय तथा पर्यटक भिसा जारी भएका थिए। अमेरिकी नागरिक रोबिन्सनको नाममा पनि पर्यटक र अध्ययन भिसा जारी भएको देखिएको थियो। तर, गेडिज्टको नाममा रहेको आवासीय भिसाको विवरण पछि रोबिन्सनको राहदानीमा जोडिएको अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ।
अख्तियारले महतोले अध्यागमन प्रणालीमा पहुँचको दुरुपयोग गरी एक व्यक्तिको नाममा रहेको भिसा विवरण अर्को व्यक्तिको नाममा कायम गराएको आरोप लगाएको छ। यस क्रममा भिसा शुल्कबापतको राजस्वसमेत अभिलेखमा नदेखिएको तथा विवरणमा केरमेट र थपघट गरिएको अभियोगपत्रमा उल्लेख छ। सरकारी तथा सार्वजनिक लिखत किर्तेको कसुरमा उनलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ।
महतोले भने अदालतमा बयानका क्रममा आफूलाई यसरी विवरण परिवर्तन भएको विषयमा जानकारी नभएको दाबी गरेका छन्। उनले आफू कार्यरत समयमा ‘ट्राभल सेन्ट्रलाइजेसन’ विकल्प प्रणालीमा उपलब्ध नरहेको तथा आफूलाई भिसा प्रिन्टर, भिसा स्टिकर र प्रणालीमा आवश्यक पहुँचसमेत नभएको जिकिर गरेका छन्।
यसैबीच अध्यागमनसँग सम्बन्धित अर्को घटनामा श्रम स्वीकृति नलिएका एक व्यक्तिलाई २३ हजार रुपैयाँ लिएर कुवेत जान अनुमति दिएको विषयमा पनि अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ। अख्तियारले उक्त घटनालाई समेत हेरिरहेको जनाइएको छ।