मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याउने तयारी, नेपाली कामदारलाई पनि लाभ

1.9k Shares

काठमाडौं । मलेसियाले श्रमिकको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट पुर्‍याउने विषयमा छलफल अघि बढाएको छ। आगामी सन् २०२७ को बजेटअघि न्यूनतम तलब बढाउने प्रस्तावबारे निर्णय हुने अपेक्षा गरिएको छ।

हाल मलेसियामा न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट रहेको छ। प्रस्तावित २ हजार रिंगिट लागू भएमा न्यूनतम तलबमा ३ सय रिंगिट वृद्धि हुनेछ। यद्यपि नयाँ दर कहिलेदेखि लागू गर्ने भन्नेबारे भने अन्तिम निर्णय भइसकेको छैन।

मलेसियाको विद्यमान व्यवस्थाअनुसार न्यूनतम तलब विदेशी कामदारमा समेत लागू हुन्छ। त्यसैले नयाँ न्यूनतम तलब निर्धारण भएमा योग्य नेपाली कामदारले पनि त्यसअनुसारको आधारभूत तलब पाउनेछन्। मलेसियामा करिब ४ लाख नेपाली कार्यरत रहेको बताइएको छ।

मलेसियाको श्रम विभागले न्यूनतम तलबसम्बन्धी परिवर्तनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जनाएको छ। हालको न्यूनतम तलबसम्बन्धी सरकारी जानकारीअनुसार घरेलु कामदारबाहेक निजी क्षेत्रका श्रमिकलाई १ हजार ७ सय रिंगिटको न्यूनतम आधारभूत तलब लागू छ।

तलब वृद्धि गर्दा साना तथा मझौला व्यवसायमा पर्ने लागत र श्रमिकको उत्पादकत्वलगायत विषयलाई समेत सरकारले ध्यानमा राखेको छ। प्रधानमन्त्री अनवर इब्राहिमले पनि आगामी बजेटमार्फत यस विषयमा पहल घोषणा गर्ने संकेत दिएका छन्।

सम्बन्धित समाचार