काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज आसपास अमेरिकी नौसैनिक जहाजसहित विभिन्न पानीजहाजमाथि आक्रमण गरेपछि अमेरिकी युद्धपोतहरू इरानी तटबाट थप पछाडि हटेको दाबी गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी युद्धपोतहरू यस महिनाको सुरुआतमा आफ्नो अघिल्लो तैनाथी क्षेत्रबाट पछि हटेर मध्य अरब सागरतर्फ गएको दाबी गरेका छन्। ती जहाजहरू यसअघि इरानी बन्दरगाह चाबहार तथा ओमानको खाडी प्रवेशद्वारनजिक तैनाथ रहेको बताइएको थियो।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईको नाममा सोमबार सार्वजनिक गरिएको सन्देशमा पनि अमेरिकी सेनामाथि इरानी सुरक्षाकर्मीले प्रहार गरेको र त्यसका कारण अमेरिकी सेना थप अघि बढ्न रोकिएको दाबी गरिएको छ। इरानले आवश्यक परे रक्षात्मक तथा आक्रामक दुवै सैन्य कारबाहीका लागि तयार रहेको बताउँदै आएको छ।
अमेरिकाले भने इरानका दक्षिणी बन्दरगाहमा कुनै न कुनै रूपमा नौसैनिक नाकाबन्दी कायम राखेको छ। साथै, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सम्बन्धमा इरानले अघि सारेको पछिल्लो प्रस्ताव अमेरिकाले अस्वीकार गरेको बताइएको छ।
यसैबीच, होर्मुज क्षेत्रमा सैन्य तनाव जारी रहे पनि तेलको आवागमन भने बढेको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटका अनुसार पछिल्लो समय दैनिक करिब १ करोड ३० लाख ब्यारेल कच्चा तेल होर्मुज हुँदै पार भइरहेको छ। अर्थमन्त्री स्कट बेसेन्टले भने दैनिक १ करोड ५० लाखदेखि २ करोड २० लाख ब्यारेलसम्म तेल आवागमन भइरहेको अनुमान गरेका छन्।
युद्धअघि स्ट्रेट अफ होर्मुज हुँदै दैनिक करिब २ करोड ब्यारेल तेल ओसारपसार हुने गरेको थियो। केप्लरको प्रारम्भिक तथ्यांकअनुसार सेप्टेम्बरमा भने औसत दैनिक ढुवानी करिब ७४ लाख ब्यारेल रहने अनुमान गरिएको छ।
सेप्टेम्बर २७ मा समाप्त भएको एक सातामा १९ वटा तेल ट्यांकरले होर्मुज पार गरेका थिए। तीमध्ये १७ वटा अत्यन्त ठूला कच्चा तेलवाहक जहाज थिए। क्षेत्रीय देशहरूको तेल निर्यात पनि सेप्टेम्बरमा दैनिक १ करोड २८ लाख ब्यारेल पुगेको बताइएको छ, जुन युद्ध सुरु भएयताकै उच्च स्तर हो।
विश्लेषकहरूले भने सैन्य तनाव तत्काल पूर्णस्तरको युद्धमा परिणत हुने सम्भावना कम भए पनि होर्मुज आसपास नियन्त्रित रूपमा तनाव बढ्न सक्ने बताएका छन्। कूटनीतिक प्रयास असफल भएमा इरानले व्यावसायिक पानीजहाजमाथि थप आक्रमण गर्न सक्ने जोखिम रहेको उनीहरूको आकलन छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज पुनः खोल्न इरानले राखेका सर्त अस्वीकार गरेपछि मध्यस्थमार्फत थप कूटनीतिक संवादको प्रयास हुने अपेक्षा गरिएको छ। इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने बताउँदै यसअघि ओमानको मध्यस्थतामा भएको समझदारीलाई आधार बनाउनुपर्ने धारणा राखेको छ।