अस्ट्रेलियाको कम लागतको विमान सेवा कम्पनी जेटस्टारका विमानस्थल कर्मचारीले तलब तथा सेवा–सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलन थालेका छन्। कर्मचारीको आन्दोलनपछि जेटस्टार र अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू) बीच सोमबार पुनः वार्ता हुने भएको छ।
एएसयूका अनुसार जेटस्टारका करिब ९०० विमानस्थल कर्मचारीले पारिश्रमिक वृद्धि, ओभरटाइम तथा अतिरिक्त समयको भुक्तानी, बिरामी तथा व्यक्तिगत बिदामा सुधार, अत्यधिक गर्मी तथा खराब मौसममा काम गर्दा थप सुरक्षा र रोजगारी सुरक्षालगायत माग अघि सारेका छन्।
यसअघि सेप्टेम्बर २३ मा कर्मचारीले यात्रुबाट लिइने केही अतिरिक्त शुल्क संकलन नगर्ने अभियानसमेत सञ्चालन गरेका थिए। अतिरिक्त ब्यागेज, सिट परिवर्तन तथा ढिलो शुल्कजस्ता शुल्क संकलन नगरेर कर्मचारीले वार्तामा दबाब बढाएका थिए।
आन्दोलनपछि जेटस्टारले सोमबार युनियनसँग आकस्मिक वार्ता तय गरेको एएसयूले जनाएको छ। युनियनका अनुसार उक्त वार्तामा कम्पनीले संशोधित प्रस्ताव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
जेटस्टारले भने आफू कर्मचारीसँग नियमित वार्तामा रहेको र पारिश्रमिक वृद्धि, अतिरिक्त भुक्तानी तथा रोस्टरमा थप लचकतासहितको प्रस्ताव अघि सारिसकेको बताएको छ। कम्पनीले हालको औद्योगिक गतिविधिबाट आफ्नो उडान सञ्चालनमा असर नपर्ने व्यवस्था गरिएको दाबी गरेको छ।
यसअघि पनि कर्मचारी र कम्पनीबीचको सम्झौता नवीकरणका विषयमा लामो समयदेखि वार्ता हुँदै आएको थियो। एबीसीका अनुसार कर्मचारीले समान प्रकृतिको काम गर्ने क्वान्टास समूहका अन्य कर्मचारीसरह पारिश्रमिकको मागसमेत उठाएका छन्।