भक्तपुर । मध्यपुरथिमिको प्रसिद्ध जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदै मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेडाएका छन्।
इन्द्रजात्राको अवसरमा आइतबार राति करिब ८ः३० बजे दिगुटोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले करिब १० इन्च लामो तीन चुच्चे फलामे सियोले वीरेन्द्रभक्तको जिब्रो छेडेका थिए। त्यसपछि उनले महाद्वीप (भेय्) बोकेर खाली खुट्टा मध्यपुरथिमिका विभिन्न टोल तथा मन्दिरको परिक्रमा सुरु गरेका हुन्।
नेपाल संवत् तिथिअनुसार ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हुने यस जात्रामा हजारौँ स्थानीयको सहभागिता रहेको थियो।
वीरेन्द्रभक्तले यसअघि पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएका थिए। त्यसपछि २०७९, २०८१ र २०८२ सालमा पनि उनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।
यस वर्ष पाँचौँपटक जिब्रो छेडाएका उनले महाद्वीप बोकेर खाली खुट्टा मध्यपुरथिमिका विभिन्न स्थानको परिक्रमा गरेका छन्।
गत वर्ष उनले करिब ३० किलो तौलको महाद्वीप बोकेर भक्तपुरको नवदुर्गा मन्दिरसम्म पुगेर फर्किएका थिए। उक्त यात्रामा उनले करिब १३ किलोमिटर दूरी खाली खुट्टा हिँडेर पूरा गरेका थिए।
यस वर्षको जात्रा दिगुटोलबाट सुरु भई बालकुमारी, दक्षिणबाराही, चारदोबाटो, सिद्धिकाली मन्दिर, नासननी, चपाचो, गार्चा, नगदेश, सिद्धिगणेश मन्दिर, भीमसेन चोक, नगरपालिका चोक, पाटीबिहार, पोबु, भुलाँखेल, चोडे, दुईपोखरी, शिवाटोल, दथुटोल, तछुटोल हुँदै विष्णुवीरबाट पुनः बालकुमारी मन्दिर परिसरमा पुगेर समापन हुने जनाइएको छ।
जात्राका क्रममा वीरेन्द्रभक्तले खाली खुट्टा महाद्वीप बोकेर विभिन्न टोल तथा मन्दिरको परिक्रमा गर्ने परम्परा छ।
आर्थिक अभावलगायत कारणले समय–समयमा रोकिँदै आएको जिब्रो छेड्ने जात्रा २०६३ सालपछि लामो समय रोकिएको थियो। करिब ११ वर्षको अन्तरालपछि २०७४ सालमा वीरेन्द्रभक्तकै अगुवाइमा जात्रा पुनः सञ्चालनमा आएको थियो।
त्यसयता २०७९, २०८१ र २०८२ सालमा पनि उनले जिब्रो छेडाएका थिए। यसअघि २०७५ सालमा बालकराम श्रेष्ठले पनि एकपटक जिब्रो छेडाएका थिए। कोरोना महामारीका कारण पनि जात्रा प्रभावित भएको थियो।
मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ सालमा जिब्रो छेडाएका थिए।
स्थानीयका अनुसार जात्रा सञ्चालन गर्न करिब रु छ लाखभन्दा बढी खर्च हुने गरेको छ। बागमती प्रदेश सरकार र नगरपालिकाबाट सहयोग प्राप्त भए पनि आवश्यक रकमभन्दा बढी खर्च जिब्रो छेड्ने व्यक्ति तथा स्थानीयवासीले व्यहोर्दै आएका छन्।
जिब्रो छेडेपछि सम्बन्धित व्यक्तिको इच्छाअनुसार परिक्रमा गर्ने परम्परा रहेको छ। वीरेन्द्रभक्तले २०८२ सालमा जिब्रो छेडेर सयौँ स्थानीयको साथमा महाद्वीप बोकी पशुपतिनाथ मन्दिरसम्म यात्रा गरेका थिए। त्यस क्रममा उनले करिब २८ किलोमिटर दूरी खाली खुट्टा पार गरेका थिए।
स्थानीय किंवदन्तीअनुसार प्राचीन समयमा थिमिमा भूत, प्रेत तथा पिसाचले आतङ्क मच्चाउने र मानिसलाई मार्ने गरेका थिए। त्यसबाट नगरलाई जोगाउन एक व्यक्तिको जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत भागेको र नगरमा शान्ति स्थापना भएको विश्वास गरिन्छ।
सोही विश्वासका आधारमा हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाको अवसरमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुँदै आएको हो।
दिगुभैरव मन्दिरको डबलीमा पूजा गरिएको करिब एक फिट लामो फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गर्ने र अन्त्यमा बालकुमारी मन्दिर पुगेपछि सियो निकाल्ने परम्परा छ। जात्रा सम्पन्न गरेपछि नगरलाई रोग, अनिकाल तथा प्राकृतिक विपत्तिबाट जोगाउन सकिने जनविश्वाससमेत रहँदै आएको छ।