वर्षापछि कर्णालीका सडक बन्द, पहिरो पन्छाउन परिचालन भए डोजर

1.1k Shares

सुर्खेत । अविरल वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरो जाँदा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली करिडोरसहित कर्णाली, मध्यपहाडी र राप्ती राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार सुर्खेत–दैलेख–कालीकोट–बाजुराहुँदै हुम्ला जोड्ने कर्णाली करिडोर अवरुद्ध भएको छ।

त्यस्तै, सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला र मुगु जोड्ने कर्णाली राजमार्ग पनि विभिन्न स्थानमा पहिरोका कारण बन्द भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो खसेपछि राप्ती राजमार्गसमेत बन्द भएको छ।

सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ र्यालेमा पहिरो गएपछि सुर्खेत–सल्यान सडकखण्ड र त्रिवेणी गाउँपालिका–३ ढुंगेबगरमा पहिरोका कारण लुहाम–कालीमाटी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ भिग्म, जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँबीचको सडकखण्ड तथा मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड समेत पहिरोका कारण बन्द भएका छन्।

सडक खुलाउन उपकरण परिचालन

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सम्बन्धित सडक डिभिजन कार्यालयहरूले पहिरो पन्छाउने काम अघि बढाएका छन्। सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट, सल्यान र सुर्खेतबाट जेसीबी, स्काभेटरलगायतका उपकरण परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण कर्णालीका पहाडी क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। अवरुद्ध सडकहरूमा पहिरो पन्छाउने काम भइरहेको भए पनि वर्षा जारी रहेमा थप स्थानमा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको छ।

सम्बन्धित समाचार