समरकन्द, उज्बेकिस्तान । ४६औँ चेस ओलम्पियाडमा नेपालकी १२ वर्षीया चेस खेलाडी निहाना श्रेष्ठले वुमन क्यान्डिडेट मास्टर (डब्लूसीएम) टाइटल हासिल गरेकी छन्। नवौँ चरणसम्म ७ खेलमा ३.५ अंक जोड्दै निहानाले उक्त उपाधि प्राप्त गरेकी हुन्।
प्रतियोगितामा निहानाले न्युजिल्यान्डकी डब्लूएफएम नादिया ब्रिगन्जासँग बराबरी खेलेकी थिइन्। उनले डोमिनिकन रिपब्लिककी बर्लाम्या नुनेज डायज, मादागास्करकी मायराना इरिन्हा र लिनलिन हटेडलाई पराजित गरेकी छन्।
यसैबीच, नेपाली पुरुष टोलीले उच्च औसत रेटिङ भएको लक्जेम्बर्गसँग २–२ अंकको बराबरी खेलेको छ। पहिलो बोर्डमा सीएम पुरुषोत्तम सिलवालले एफएम निकोलस बोर्गसँग बराबरी गर्दै आधा अंक जोडे। दोस्रो बोर्डमा एफएम रुपेश जैसवालले आईएम फ्रेड बेरेन्डलाई पराजित गर्दै नेपालका लागि महत्वपूर्ण एक अंक हासिल गरे।
तेस्रो बोर्डमा आशिष फुँयाल एफएम फिलिप्पे लिन्स्टरसँग पराजित भए भने चौथो बोर्डमा राजन सुवेदीले मार्क मेर्टेन्ससँग बराबरी खेले।
पुरुष टोलीले चार खेलमा जित र एक खेलमा बराबरीसहित कुल ९ म्याच अंक जोडेको छ। नवौँ चरणपछि नेपाल डिफ समूहमा तेस्रो स्थानमा रहेको छ।
महिला टोलीले पनि नवौँ चरणमा म्यानमारलाई २.५–१.५ अंकले पराजित गरेको छ। एन्जल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले जित हात पार्दा कृतिसरा अधिकारीले बराबरी खेलिन्। म्यानमारविरुद्धको जितसँगै नेपाली महिला टोलीले ८ म्याच अंक पुर्याएको छ।
सेप्टेम्बर १६ देखि २७ सम्म उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल ११ चरणका खेल हुनेछन्। नवौँ चरणपछि नेपाली पुरुष टोलीले ट्रिनिडाड एन्ड टोबागो तथा महिला टोलीले सुरिनामसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार नेपाली खेलाडीहरूले प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरिरहेका छन्।