‘महासभामा प्रधानमन्त्रीले उठाएको युवाको आवाज अब देशभित्र कार्यान्वयन हुनुपर्छ’

1.8k Shares

काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली युवाको भावना, अपेक्षा र पुस्तान्तरणको आवाज अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको बताएका छन्।

सोडारीले प्रधानमन्त्री शाहको सम्बोधनले नेपाली युवाले खोजिरहेको इमानदारी, जवाफदेहिता, नयाँ राजनीतिक संस्कार र परिणाममुखी शासनको विषयलाई विश्व समुदायसमक्ष पुर्‍याएको बताएका हुन्।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफू नयाँ पुस्ताको चाहना प्रतिबिम्बित गर्ने ताजा लोकतान्त्रिक जनमतका साथ महासभामा उपस्थित भएको तथा नेपाली युवाले इमानदारी र जवाफदेहिताको राजनीति चाहेको बताएका थिए।

सोडारीका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अन्तर्राष्ट्रिय मञ्चमा गरिएको सम्बोधनमा मात्र सीमित नभई नेपालमा पछिल्लो समय विकसित पुस्तान्तरणको बहससँग समेत जोडिएको छ।

उनले नयाँ पुस्ताले राजनीतिक नेतृत्वबाट आश्वासन मात्र नभई शासन सञ्चालनको शैलीमै परिवर्तन खोजिरहेको बताए। प्रश्न गर्ने अधिकार, निर्णय प्रक्रियामा सहभागिता, पारदर्शिता र भविष्यप्रतिको भरोसा युवाका प्रमुख अपेक्षा रहेको उनको भनाइ छ।

सोडारीले नेपाली युवाले स्वदेशमै श्रम गरेर भविष्य निर्माण गर्न सक्ने वातावरण खोजिरहेको उल्लेख गर्दै मर्यादित रोजगारी, स्वरोजगार, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्ने अवसरलाई प्राथमिकता दिनुपर्ने बताए।

उनका अनुसार देशमा देखिएको बेथिति, भ्रष्टाचार, कुशासन र दण्डहीनताको अन्त्य पनि नयाँ पुस्ताको महत्वपूर्ण अपेक्षा हो। उनले जेन्जी पुस्ताको आन्दोलनलाई पनि यिनै अपेक्षाको पृष्ठभूमिमा बुझ्नुपर्ने बताए।

‘राजनीतिको अर्थ सत्ता प्राप्ति मात्र होइन, नागरिकप्रति उत्तरदायित्व पनि हो भन्ने प्रश्न जेन्जी पुस्ताले उठाएको थियो,’ सोडारीले भने।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपाली युवाको भावना र आकांक्षालाई विश्वमञ्चमा उठाउनु सकारात्मक सन्देश भएको सोडारीको भनाइ छ। नेपाली युवाको संघर्ष, बलिदान र परिवर्तनको चाहना प्रधानमन्त्री तहबाट अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत हुनु महत्वपूर्ण रहेको उनले बताए।

तर अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरिएका प्रतिबद्धता नेपालभित्र कति कार्यान्वयन हुन्छन् भन्ने विषय अझै महत्वपूर्ण रहेको उनले बताए।

‘युवाले अब भाषणभन्दा व्यवहार हेर्न चाहन्छ। प्रधानमन्त्रीले महासभामा इमानदारी र जवाफदेहिताको राजनीति आवश्यक रहेको बताउनुभएको छ भने यसको पहिलो परीक्षा देशभित्रै हुनेछ,’ सोडारीले भने।

उनका अनुसार जवाफदेहिता सरकारका निर्णयमा, इमानदारी शासनको व्यवहारमा र नयाँपन राजनीतिक संस्कारमा देखिनुपर्छ। रोजगारी तथा अवसरसम्बन्धी प्रतिबद्धता पनि नीति र कार्यक्रमको परिणाममार्फत नागरिकले अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ छ।

सोडारीले परिवर्तनको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु एउटा चरण भए पनि त्यसलाई नागरिकको दैनिक जीवनमा अनुभूति गराउनु अझ महत्वपूर्ण रहेको बताए।

जेन्जी पुस्ताले आत्मसम्मान, राजनीतिक नेतृत्वप्रति भरोसा र स्वदेशमै काम गरेर भविष्य निर्माण गर्ने अवसर खोजिरहेको उल्लेख गर्दै उनले राज्यले युवाको आवाज सुन्छ, सम्मान गर्छ र समान अवसर दिन्छ भन्ने विश्वास निर्माण गर्नुपर्ने बताए।

उनले महासभामा प्रधानमन्त्री शाहले व्यक्त गरेको युवासम्बन्धी प्रतिबद्धतालाई भाषणमा सीमित नराखी कार्यान्वयनयोग्य सार्वजनिक प्रतिबद्धताका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

सम्बन्धित समाचार