पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा जोखिम बढ्यो, मुग्लिन–मौवाखोला खण्डमा एकतर्फी यातायात

1.2k Shares

चितवन । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने तथा पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित भएको छ।

चितवनतर्फको मुग्लिन–मौवाखोला सडकखण्डमा हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। वर्षाका कारण सडकको अवस्था थप बिग्रिँदै गएपछि यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा सडक थप भासिएपछि त्यहाँ साना सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। लगातारको वर्षाका कारण सडक थप क्षतिग्रस्त बनेकाले उक्त क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको छ।

त्यस्तै, इच्छाकामना गाउँपालिका–५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरो खस्ने क्रम जारी रहँदा माथिबाट ढुंगा खसिरहेको र सडकमा जम्मा भएको माटो तथा ढुंगा हटाउनसमेत कठिनाइ भइरहेको बताइएको छ।

यता, धादिङतर्फको पृथ्वी राजमार्ग खण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सडकमा पहिरो तथा क्षतिको अवस्था कायम रहेकाले यातायात सञ्चालनमा समस्या भइरहेको छ।

सडक भासिने र पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र जोखिमको अवस्था मूल्यांकन गर्दै सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ।

वर्षा अझै जारी रहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार