सप्तकोशीमा उच्च जोखिम : ३१ ढोका खोलिए, तल्लो तटीय क्षेत्रमा सतर्कता

1.5k Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा पानीको मात्रा बढेपछि तल्लो तटीय तथा डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

अपराह्न २:१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन गरिएको छ। उक्त बहावलाई उच्च जोखिमको संकेतका रूपमा लिइएको छ।

बाढी पूर्वानुमान महाशाखाले चतारा क्षेत्रमा नदीको बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय र डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

पानीको बहाव बढेसँगै भारतको बिहार क्षेत्रसमेत जोखिममा परेको कोशी परियोजनाले जनाएको छ। परियोजनाका अनुसार नेपालतर्फबाट ब्यारेजका थप ढोका खोलिँदा बिहारतर्फ पानीको बहावसमेत बढ्ने भएकाले त्यहाँ पनि बाढीको जोखिम बढ्न सक्छ।

नदीको जलसतह र बहाव निरन्तर बढिरहेको अवस्थामा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सुरक्षा तयारी गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार