काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तामा महासचिव गुटेरेसले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेटमा नेपालले भोगिरहेको जलवायु संकट, भोटेकोशी विपद् र पुनर्निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए ।
भेटका क्रममा गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भाव र सहयोगका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएका थिए । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएका थिए ।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य विपद्पछि नेपालले अघि बढाउनुपर्ने पुनर्स्थापनाका विषयमा छलफल भएको थियो ।
त्यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक समर्थनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति र जोखिमको अन्तर्राष्ट्रियकरण गर्दै आएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्नुअघि महासचिव गुटेरेससँग भएको भेटलाई जलवायु न्याय, पुनर्निर्माण र नेपालको विकाससम्बन्धी मुद्दामा केन्द्रित भेटका रूपमा हेरिएको छ ।