जुम्ला । कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपानेले महिला, बालबालिका तथा लक्षित वर्गका सवाललाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल), जुम्लाको २०औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा बोल्दै न्यौपानेले महिला तथा किशोरी सशक्तीकरणका क्षेत्रमा संस्थाले दुई दशकदेखि पुर्याएको योगदानको प्रशंसा गरिन्।
उपसभामुख
न्यौपानेले महिला, बालबालिका तथा लक्षित वर्गका सवालमा उठाइएका नीति तथा कानुनी विषयलाई जिम्मेवारीपूर्वक ग्रहण गर्दै साझा विकासका मुद्दामा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने बताइन्।
कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले महिला तथा किशोरीको जीवनस्तर सुधारमा सर्वोदय नेपालले महत्वपूर्ण भूमिका खेलेको बताए। हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले संस्थाका कार्यक्रमले महिलाको नेतृत्व र सहभागितामा सकारात्मक परिवर्तन ल्याएको बताउँदै जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम विस्तार गर्नुपर्ने बताइन्।
सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीका अनुसार संस्थाले महिला तथा किशोरी सशक्तीकरण, शिक्षा, जीविकोपार्जन, प्रजनन स्वास्थ्य, जलवायु परिवर्तन र लैंगिक हिंसा न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
संस्थाले जुम्लासहित कर्णालीका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रममा किशोरी क्लब तथा आमा समूहका प्रतिनिधिले महिला हिंसा, सामाजिक कुरीति, किशोरी शिक्षा र लैंगिक समानताका सवाल उठाएका थिए।