त्रिपुरेश्वर बस आगजनी प्रकरण : तत्काल छानबिन गर्न पूर्वाधार विकास समितिको निर्देशन

1.1k Shares

काठमाडौँ । त्रिपुरेश्वरमा मिनिबसमा आगजनी भएको घटनाबारे तत्काल छानबिन गर्न संघीय संसद्को पूर्वाधार विकास समितिले निर्देशन दिएको छ। समितिले घटनाको कारण, परिस्थितिलगायतका विषयमा आवश्यक अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।

समितिमा भएको छलफलका क्रममा त्रिपुरेश्वर क्षेत्रमा देखिएको यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी समस्याबारे समेत कुरा उठेको थियो। सार्वजनिक यातायात सञ्चालनका क्रममा चालक, ट्राफिक प्रहरी तथा अन्य सम्बन्धित पक्षबीच उत्पन्न हुने विवादलाई समयमै समाधान गर्न आवश्यक रहेको सांसदहरूले बताएका थिए।

यसअघि त्रिपुरेश्वरमा मिनिबस चालक अर्जुन दोङ तामाङले बा.५ ख ४२७४ नम्बरको मिनिबसमा आगजनी गरेका थिए। राहदानी विभागअगाडिको बसपकेटमा भएको घटनामा चालक स्वयं पनि गम्भीर रूपमा जलेका थिए। घटनाअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको प्रहरीले जनाएको थियो।

घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय समिति यसअघि नै गठन गरिएको छ। समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी दोषी देखिए कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ।

पूर्वाधार विकास समितिले घटनालाई गम्भीर रूपमा लिएर तत्काल छानबिन तथा आवश्यक सुधारका काम अघि बढाउन निर्देशन दिएको हो। समितिको छलफलमा सडक तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

सम्बन्धित समाचार