गुटेरेसको चेतावनी : नेपालका विपद्ले देखायो जलवायु संकटको गम्भीर असर

1.3k Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला वर्ष देखिएका विपद्ले जलवायु संकटको गम्भीर जोखिमलाई पुष्टि गरेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जाँदा नेपालसहित हिमाली मुलुकहरू बढी प्रभावित भइरहेको बताए। हिमनदी पग्लिने क्रम तीव्र हुँदै गए विश्वले अझ गम्भीर समस्या सामना गर्नुपर्ने उनको चेतावनी थियो।

गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको विषय उठाउँदै विश्व समुदायलाई सचेत गराएको स्मरण गरे। पछिल्ला घटनाले त्यतिबेला दिइएको चेतावनी अतिरञ्जित नभएको पुष्टि गरेको उनको भनाइ थियो।

‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ,’ उनले भने, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ।’

गुटेरेसले नेपालको भोटेकोशी बाढीजस्ता विपद्लाई जलवायु परिवर्तनका असर वास्तविकतामा परिणत भइरहेको उदाहरणका रूपमा प्रस्तुत गरे। उनका अनुसार जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यमा आउने समस्या नभई वर्तमानमै देखिइरहेको वास्तविकता हो।

विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको भन्दै उनले जलवायु न्यायको आवश्यकता औँल्याए। प्रदूषण गर्नेहरूले त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने उनको धारणा थियो।

गुटेरेसले जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्ने कोषमा पर्याप्त रकम नरहेको भन्दै विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे।

उनले जलवायु अनुकूलनका लागि उपलब्ध वित्तलाई तीन गुणा बढाउन तथा हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्नसमेत आह्वान गरे।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह बुधबार साँझ अमेरिकाको न्यूयोर्क पुगेका छन्। प्रधानमन्त्री शाहले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

नेपालको पछिल्लो विपद् र जलवायु संकटका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठिरहेका बेला उनको सम्बोधनलाई समेत चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार