एसियाड बक्सिङमा खगेन्द्र रोकामगरको विजयी सुरुआत

876 Shares

नागोया (जापान), असोज ७ गते । २०औँ एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोकामगरले विजयी सुरुआत गर्नुभएको छ ।

नागोयास्थित निसिओ जिम्न्यासियममा बुधबार भएको प्रतिस्पर्धामा खगेन्द्रले मकाउका एलभन जोन रेयस सालिनासलाई अङ्कका आधारमा ५–० ले पराजित गर्नुभयो । पाँचै जना निर्णायकले खगेन्द्रको पक्षमा निर्णय दिएका थिए ।

निर्णायकहरूले क्रमशः ३०–२६, ३०–२६, ३०–२५, ३०–२५ र ३०–२५ को स्कोर दिएका थिए । जितसँगै खगेन्द्रले प्रतियोगिताको अर्को चरणमा स्थान बनाउनुभएको छ ।

चालू एसियाली खेलकुदमा बक्सिङतर्फ नेपालको यो पहिलो जित हो । यसअघि पदकको आशा गरिएका बक्सर चन्द्रबहादुर थापा पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।

त्यस्तै, महिला ५१ केजीतर्फ रमिसा श्रेष्ठ पनि मंगलबार भियतनामकी एनगुएन थी टामसँग ५–० ले पराजित हुनुभएको थियो ।

अब बक्सिङतर्फ नेपालका रवीन नेपाल (९० केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले प्रतिस्पर्धा गर्न बाँकी छ । खगेन्द्रको जितसँगै नेपाली बक्सिङ टोलीले एसियाडमा पुनः सकारात्मक सुरुआत गरेको छ ।

सम्बन्धित समाचार