नेपालको बाढी पुनरुत्थानमा अमेरिकाको थप ३१ मिलियन डलर सहयोग घोषणा

960 Shares

काठमाडौँ । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा उक्त सहयोगको घोषणा गरेकी हुन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वका नेताहरू न्यूयोर्कमा भेला भएका बेला दुई अधिकारीबीच भेटवार्ता भएको हो।

अमेरिकी योजनाअनुसार बाढीबाट क्षतिग्रस्त यातायात पूर्वाधार पुनर्स्थापनाका लागि १० मिलियन डलर खर्च गरिनेछ। उक्त रकमबाट प्रभावित क्षेत्रमा स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल निर्माण गरिने र पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र जाडोयाममा आवश्यक पर्ने सहयोगका लागि थप ८ मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ।

भविष्यमा हुने विपद्पछिको उद्धार तथा पुनरुत्थानलाई प्रभावकारी बनाउन अमेरिकी प्रविधिबाट निर्मित ड्रोन खरिदका लागि १३ मिलियन डलर खर्च गर्ने योजना पनि छ। यसरी तीन शीर्षकमा गरी अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने भएको हो।

भेटका क्रममा उपसचिव हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति अमेरिकी सरकारका तर्फबाट समवेदना व्यक्त गरेकी थिइन्। उनले बाढीपछि अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरेकी छन्।

नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहयोग ३६ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ। यसअघि अमेरिकाले स्वास्थ्य, मानवीय सहायता तथा बाढीपीडितको पहिचानका लागि फरेन्सिक सहयोगलगायत विभिन्न क्षेत्रमा सहायता उपलब्ध गराइसकेको थियो।

अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार