न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको द्विपक्षीय भेटमा नेपाल र ईयूबीचको बहुआयामिक साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट नेपालले व्यहोर्नुपरेको कठिन परिस्थितिप्रति ईयूले व्यक्त गरेको संवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे ।
जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि दुवै पक्षबीच सकारात्मक छलफल भएको बताइएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी भइरहेको छ । प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेटमा नेपाल र ईयूबीच कायम दीर्घकालीन साझेदारीलाई थप गहिरो र प्रभावकारी बनाउने प्रतिबद्धता पनि दुवै पक्षले दोहोर्याएका छन् ।
जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा त्यसबाट प्रभावित समुदायको पुनःस्थापनाजस्ता साझा चासोका विषयमा नेपाल र ईयूबीच आगामी दिनमा सहकार्य थप विस्तार गर्ने विषयलाई भेटवार्तामा प्राथमिकता दिइएको जनाइएको छ ।