एरिका गुरुङ पदकविहीन, एसियाली खेलकुदमा नेपालको स्वर्णको प्रतीक्षा कायमै

813 Shares

नागोया (जापान), असोज ५ — नेपाललाई एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाउने सम्भावित खेलाडीका रूपमा हेरिएकी कराँते खेलाडी एरिका गुरुङ २०औँ एसियाली खेलकुदमा पदकविहीन भएकी छन्।

नागोयास्थित तोयोहासी जिम्नेजियममा भएको महिला ६८ केजीमाथिको कुमितेमा एरिका सेमिफाइनलमा काजकस्तानकी सोफिया बेरुल्सेभासँग २–१ ले पराजित भइन्। सेमिफाइनलमा पराजित भएपछि उनको स्वर्ण पदक जित्ने सम्भावना समाप्त भएको थियो।

रिपिचेजअन्तर्गत कांस्य पदकका लागि भएको भिडन्तमा पनि एरिका साउदी अरबकी मुस्तफा डिना अहमदसँग ८–७ ले पराजित भइन्। त्यससँगै उनी पदकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन्।

यसअघि क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासिरलाई ७–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्। पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी एरिकाबाट यसपटक नेपालले ऐतिहासिक स्वर्ण पदकको अपेक्षा गरेको थियो।

राकेश र मिनबहादुर पनि पदकबाट टाढा

एरिकासँगै नेपालका अन्य दुई कराँते खेलाडी राकेश मानन्धर र मिनबहादुर तामाङ पनि पदकको नजिक पुगेर निराश बने।

पुरुष ५५ केजीमुनिको कुमितेमा राकेशले प्रि–क्वार्टरफाइनलमा थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए।

तर सेमिफाइनलमा राकेश उज्वेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जोसँग ७–० ले पराजित भए। त्यसपछि कांस्य पदकका लागि भएको खेलमा पनि उनी मलेसियाका कालियाना सुन्द्रामसँग ९–१ ले पराजित भए।

पुरुष ६० केजीमुनिको कुमितेमा मिनबहादुर तामाङले लगातार दुई खेल जित्दै पदकको सम्भावना बलियो बनाएका थिए। उनले प्रि–क्वार्टरफाइनलमा हङकङका हिम चाउलाई ४–१ तथा क्वार्टरफाइनलमा काजकस्तानका मिर्जाजोदा मोहम्मदलाई २–० ले पराजित गरेका थिए।

तर सेमिफाइनलमा मिनबहादुर कुवेतका साबन अब्दुल्लाहसँग १०–० ले पराजित भए। कांस्य पदकका लागि भएको खेलमा पनि उनी साउदी अरबका अल्बासेर साउद अब्दुलाजिजसँग २–० ले पराजित भए।

सानुमाया पनि पहिलो चरणमै बाहिरिइन्

महिला एकल कातामा नेपालकी सानुमाया थिङ पनि पहिलो चरणबाटै बाहिरिइन्। उनी दक्षिण कोरियाकी ह्युन चोइसँग ५–० ले पराजित भइन्।

यससँगै कराँतेमा नेपालका प्रमुख पदक दाबेदार खेलाडीहरूले पदक जित्न नसक्दा एसियाली खेलकुदमा नेपालको स्वर्णसहित पदकको प्रतीक्षा कायमै रहेको छ।

सम्बन्धित समाचार