यती एयरलाइन्सको २८ वर्ष पूरा, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

904 Shares

काठमाडौँ — यती एयरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले आफ्नो २८ वर्षे यात्राका क्रममा सुरक्षा, सेवा गुणस्तर र यात्रु अनुभवलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

कम्पनीका अनुसार पछिल्लो एक वर्षमा मात्रै करिब ९ लाख यात्रुले यती एयरलाइन्सको सेवा प्रयोग गरेका छन्। यतीले यो संख्यालाई नेपाली यात्रुमाझ आफ्नो हवाई सेवाप्रतिको निरन्तर विश्वासको सूचकका रूपमा लिएको छ।

बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षाअनुसार सेवा गुणस्तर तथा सञ्चालन दक्षतामा सुधार गर्दै आएको कम्पनीको भनाइ छ। टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज बनाउने प्रयास भइरहेको यतीले जनाएको छ।

कम्पनीले यात्रुबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै आएको जनाएको छ। डिजिटल माध्यम तथा ग्राहक सम्पर्क प्रणालीलाई थप प्रभावकारी बनाउँदै यात्रुलाई सहज सेवा उपलब्ध गराउनेतर्फ पनि कम्पनी केन्द्रित रहेको बताइएको छ।

सुरक्षालाई प्राथमिकता

यतीका अनुसार उड्डयन सुरक्षा कम्पनीको प्रमुख प्राथमिकतामा रहेको छ। सञ्चालन प्रक्रिया, प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको कम्पनीले जनाएको छ।

नेपालको आन्तरिक हवाई बजार भने सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धालगायत विभिन्न चुनौतीबीच अघि बढिरहेको कम्पनीको भनाइ छ।

यस्ता चुनौतीका बाबजुद यात्रुको माग र आवश्यकताअनुसार सेवा विस्तार तथा सञ्चालन प्रणालीमा सुधार गर्दै आएको यतीले जनाएको छ।

नेपालमा हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ। यतीले पनि देशका प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ।

२८औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले आगामी दिनमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभवलाई सहज बनाउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ।

सम्बन्धित समाचार