रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्। आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबारदेखि १ हजार ६ सयभन्दा बढी ड्रोन खसालिएको र तीमध्ये करिब ४५० वटा मस्कोतर्फ लक्षित थिए।आक्रमणका क्रममा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पुगेको रुसी अधिकारीहरूले बताएका छन्। एउटा ड्रोन आवासीय भवनमा खस्दा ठूलो आगलागी भएको थियो। मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार २१ तले भवनबाट करिब ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
रुसी अधिकारीहरूले आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै रुसमा जारी संसदीय निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य रहेको आरोप लगाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मस्को क्षेत्रमा गरिएको लामो दूरीको आक्रमणले रुसी ऊर्जा तथा लजिस्टिक संरचनामा महत्वपूर्ण प्रभाव पारेको बताएका छन्।यसैबीच युक्रेनले पनि रातभर रुसबाट १३८ ड्रोन प्रहार गरिएको जनाएको छ। दुवै देशबीच लामो दूरीका ड्रोन र क्षेप्यास्त्र आक्रमण तीव्र भइरहेका बेला पछिल्लो घटनाले युद्ध थप जटिल बनेको देखाएको छ।