तस्करी रोक्न खोज्दा मारिएका सशस्त्रका सईका मुख्य हत्यारा २२ महिनापछि पक्राउ

1.2k Shares

सिरहा । तस्करी रोक्ने क्रममा हत्या गरिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन् । मुख्य अभियुक्त पक्राउ परेपछि मृतकका परिवारमा न्याय पाउने आशा फेरि जागेको छ ।

सई यादवका दाजु पाण्डव यादवले लामो समयसम्म घटनामा संलग्न व्यक्ति पक्राउ नपर्दा न्यायको आशा कमजोर हुँदै गएको बताएका थिए । तर मुख्य अभियुक्त पक्राउ परेको खबरले परिवारलाई राहत मिलेको उनको भनाइ छ ।

घटना कसरी भएको थियो ?

२०८१ मंसिर १६ गते बिहान भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचनापछि सशस्त्र प्रहरीको टोली नेपाल–भारत सीमा क्षेत्रमा खटिएको थियो । बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित सीमाक्षेत्रमा सई लक्ष्मणप्रसाद यादवको नेतृत्वमा टोली परिचालन भएको थियो ।

ड्युटीका क्रममा शंकास्पद डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जिपलाई रोक्न खोज्दा चालकले सई यादवलाई ठक्कर दिएर फरार भएको प्रहरीले बताउँदै आएको छ । गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान अघि बढाएको थियो । तर मुख्य अभियुक्त पक्राउ पर्न भने २२ महिना लागेको हो ।

गोली चलेपछि मुख्य अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाको मुख्य अभियुक्त भनिएका भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी पक्राउ परेका छन् । प्रहरीका अनुसार सई यादवको हत्यामा प्रयोग भएको गाडीका धनी पनि मंसुरी नै हुन् ।

बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि एक राउन्ड गोली चलाएका थिए । त्यसपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाएको थियो । गोली लागेर मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको छ । पक्राउपछि उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।

अर्का फरार अभियुक्तको खोजी

मुख्य अभियुक्त पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी वासुदेव पाठक र सशस्त्र प्रहरीका एसपी सुमनजंग थापासहितको टोली मृतक सई यादवको घर पुगेको थियो ।

प्रहरी अधिकारीहरूले घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरी पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । एसपी पाठकका अनुसार घटनामा संलग्न अर्का एक व्यक्ति अझै फरार छन् र उनको खोजी भइरहेको छ ।

मुख्य अभियुक्त पक्राउसँगै प्रहरीले घटनाको अनुसन्धान थप अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार