२२.५० मेगावाटको जाल्दीगाड आयोजनामा तीन बैंकले लगानी गर्ने

1k Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ।

सांग्रीला हाइड्रोपावरले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। आयोजनामा बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहनेछ।

आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रीला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिसमेत सहभागी थिए।

जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ।

आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्। वित्तीय व्यवस्थापनसमेत पूरा भएपछि अब निर्माण कार्यलाई तीव्रता दिने कम्पनीले जनाएको छ।

सांग्रीला हाइड्रोपावरका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले आयोजनाको निर्माणलाई निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माणमा देखिएका मुख्य तयारीका कामहरू अघि बढाउन सहज भएको छ।

गोरखामा पनि आयोजना निर्माण गरिरहेको समूह

जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

विकास हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) समेत गरिसकेको छ।

यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना पनि निर्माण गरिरहेको छ। उक्त आयोजनाबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

यसअघि निर्माण अनुभव हासिल गरिसकेको समूहले २२.५० मेगावाटको जाल्दीगाड आयोजना पनि निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजना निर्माण सम्पन्न भएपछि रुकुम पश्चिममा विद्युत् उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी र पूर्वाधार विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार