जेनेभा । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्अन्तर्गतको स्वतन्त्र तथ्य–अन्वेषण मिसनले इरानमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने पर्याप्त आधार भेटिएको जनाएको छ। मिसनले फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक विद्यालय र लामेर्दस्थित खेलकुद परिसर तथा आवासीय क्षेत्रमा भएका आक्रमणबारे यस्तो निष्कर्ष निकालेको हो।
मिसनका अनुसार मिनाबको शाजारेह तैय्येबेह प्राथमिक विद्यालयमा भएको आक्रमणमा १५० भन्दा बढी मानिस मारिएका थिए, जसमा करिब १२० बालबालिका रहेको इरानी अधिकारीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूले विद्यालय स्पष्ट रूपमा नागरिक संरचना रहेको र त्यसलाई सैन्य प्रयोजनमा प्रयोग गरिएको प्रमाण नभेटिएको बताएका छन्।
यूएन विशेषज्ञहरूले विद्यालयमा भएको आक्रमणलाई ‘अन्धाधुन्ध आक्रमण’ को श्रेणीमा राख्दै नागरिकको ज्यान जाने वा नागरिक संरचना क्षतिग्रस्त हुने जोखिमबारे अमेरिकी पक्षले पर्याप्त सावधानी नअपनाएको निष्कर्ष निकालेका छन्। उनीहरूले विद्यालय नै आक्रमणको मुख्य लक्ष्य बनेको र यो केवल गलत निशाना वा छेउमा रहेको सैन्य संरचनामाथिको आक्रमणबाट भएको क्षति नभएको बताएका छन्।
त्यस्तै, लामेर्दमा भएको अर्को आक्रमणमा खेलकुद परिसर तथा आसपासका आवासीय क्षेत्रमा क्षति पुग्नुका साथै २२ जना सर्वसाधारण मारिएको वा घाइते भएको मिसनले जनाएको छ। यसलाई पनि अनुसन्धानकर्ताहरूले अन्धाधुन्ध आक्रमण भन्दै युद्ध अपराधको सम्भावनासँग जोडेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भने लामेर्दमा उक्त दिन अमेरिकी आक्रमण भएको अस्वीकार गरेको छ।
यूएनको तथ्य–अन्वेषण मिसन न्यायिक अदालत होइन। त्यसैले यसको निष्कर्ष आफैंमा आपराधिक फैसला होइन, तर भविष्यमा राष्ट्रिय अदालत वा अन्तर्राष्ट्रिय न्यायिक प्रक्रियामा प्रमाणका रूपमा प्रयोग हुन सक्ने बताइएको छ। प्रतिवेदन आगामी दिनमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्मा प्रस्तुत गरिनेछ।
अमेरिकी पक्षले भने प्रतिवेदनको निष्कर्ष अस्वीकार गरेको छ। ह्वाइट हाउसले मानवअधिकार परिषद्को निष्पक्षतामाथि प्रश्न उठाएको छ भने अमेरिकी अधिकारीहरूले आफ्ना सैन्य कारबाही अन्तर्राष्ट्रिय युद्ध कानुनअनुसार सञ्चालन हुने बताउँदै आएका छन्।
यसै प्रतिवेदनमा यूएन विशेषज्ञहरूले इरानी सुरक्षा निकायले सरकारविरोधी प्रदर्शन दबाउने क्रममा हत्या, यातना, मनपरी पक्राउ र जबर्जस्ती बेपत्ताजस्ता गम्भीर मानवअधिकार उल्लंघन गरेको तथा तीमध्ये धेरै घटना मानवताविरुद्धको अपराधको तहमा पुग्ने निष्कर्ष पनि निकालेका छन्।