काठमाडौं — नेपाली फिल्मका लागि महत्वपूर्ण मानिने शुक्रबार आज तीन नयाँ नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘झिँगे दाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो !’ एकै दिन हलमा उत्रिएसँगै दर्शकको रोजाइ र बक्स अफिसमा प्रतिस्पर्धा देखिने भएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगे दाउ २’ यसपटकको मुख्य आकर्षणका रूपमा हेरिएको छ। अघिल्लो श्रृंखलाको सफलतापछि निर्माण गरिएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल र महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। पारिवारिक कथावस्तु र हास्यरसमा आधारित फिल्मले मल्टिप्लेक्समा समेत राम्रो शो पाएको छ।
त्यस्तै, ‘कार्की साइँला’ मा हास्य कलाकारका रूपमा परिचित जितु नेपाल फरक भूमिकामा प्रस्तुत भएका छन्। राजेन्द्र बस्नेतको निर्देशन रहेको फिल्मले गाउँले परिवेशमा भरियाको जीवन, संघर्ष, प्रेम र सामाजिक विभेदको कथा प्रस्तुत गरेको छ। फिल्ममा जितु नेपालसँगै प्रियाना आचार्यको मुख्य भूमिका छ।
यसैगरी ‘माया बस्छ कि के हो !’ पनि आजैबाट प्रदर्शनमा आएको छ। राजु अधिकारी निर्देशित यो प्रेमकथामा अध्ययन तथा रोजगारीका लागि विदेशिएका नेपाली युवायुवतीको प्रेम, सपना र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ। फिल्ममा सोनाल लामा र कस्मता निरौलाको मुख्य अभिनय रहेको छ।
एकै दिन तीन फिल्म प्रदर्शनमा आउँदा दर्शकलाई रोजाइको विकल्प बढेको छ भने निर्माताका लागि भने शो र दर्शक बाँडिने चुनौती थपिएको छ। फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रचारप्रसार र दर्शकबाट प्राप्त प्रतिक्रियाले आगामी दिनमा कुन फिल्मले कस्तो व्यापार गर्छ भन्ने निर्धारण गर्नेछ।
असोजमा मात्रै १२ नेपाली फिल्म प्रदर्शनको तयारीमा रहेकाले नेपाली फिल्म उद्योगका लागि यो महिना व्यस्त रहने देखिएको छ। दसैँको लामो बिदा नजिकिँदै गर्दा फिल्म निर्माताले ठूलो दर्शक समूहलाई लक्षित गरेका छन्।