युनाइटेडविरुद्ध हाल्यान्डको गोलमा भीएआर चुक्यो, प्रो रेफले स्वीकार्‍यो गल्ती

1.6k Shares

म्यानचेस्टर । प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हाल्यान्डले गरेको निर्णायक गोललाई मान्यता दिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) बाट गल्ती भएको पुष्टि भएको छ ।

प्रिमियर लिगका म्याच रेफ्रीको नियामक निकाय प्रोफेसनल गेम म्याच अफिसियल्स लिमिटेड (प्रो रेफ) ले म्यानचेस्टर युनाइटेडविरुद्ध सिटीको खेलमा भएको उक्त निर्णय त्रुटिपूर्ण रहेको स्वीकार गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलको ६०औँ मिनेटमा जोस्को ग्वार्डिओलको क्रसमा हाल्यान्डले गोल गरेका थिए । सुरुमा मैदानका रेफ्री माइकल ओलिभरले हाल्यान्डलाई अफसाइड दिएका थिए । तर भीएआरको हस्तक्षेपपछि गोललाई मान्यता दिइएको थियो ।

हाल्यान्डभन्दा अगाडि रहेका एन्जो फर्नान्डेजले बलमा हेड गर्ने प्रयास गरेका थिए । उनले बललाई नछोए पनि अफसाइड स्थितिमा रहेर खेलमा प्रभाव पारेका थिए वा थिएनन् भन्ने विषयमा विवाद भएको थियो ।

प्रो रेफका अनुसार फर्नान्डेजले बल नछोएको भए पनि उनको उपस्थितिले खेलमा प्रभाव पारेको हुनसक्ने विषय व्यक्तिपरक निर्णय भएकाले मैदानमै गएर रेफ्रीले पुनरावलोकन गर्नुपर्ने थियो । तर भीएआरले रेफ्रीलाई अन-फिल्ड रिभ्युका लागि सिफारिस नगरेको प्रो रेफले जनाएको छ ।

प्रो रेफले म्यानचेस्टर युनाइटेडसँग सम्पर्क गरी उक्त निर्णय त्रुटिपूर्ण भएको स्वीकार गरेको छ । घटनाको थप समीक्षा गरिने पनि जनाएको छ ।

युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले निर्णयलाई अन्यायपूर्ण बताएका छन् भने प्रशिक्षक माइकल क्यारिकले पनि उक्त निर्णयप्रति आफू अन्योलमा परेको प्रतिक्रिया दिएका छन् ।

उक्त गोल हुनुअघि नै म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भइसकेको थियो । खेलको २३औँ मिनेटमा युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसलाई खुट्टाले प्रहार गरेपछि सिटीका फिल फोडेनले सिधै रातो कार्ड पाएका थिए ।

सम्बन्धित समाचार