चीनले इरानलाई अमेरिकी सैन्य अखडाको सूचना दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी

3.4k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जोर्डनस्थित अमेरिकी सैन्य अखडाका भू–उपग्रह तस्बिर चिनियाँ संस्थाले उपलब्ध गराएको भन्ने समाचारलाई खासै महत्व नदिएको बताएका छन्।

‘वाल स्ट्रिट जर्नल’ले चिनियाँ संस्थाले इरानलाई अमेरिकी सैन्य अखडाका तस्बिर उपलब्ध गराएको समाचार सार्वजनिक गरेको थियो। त्यसको भोलिपल्ट आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र चीनबीच एकअर्काको गुप्तचर गतिविधि हुने बताएका हुन्। उनले चीनले अमेरिकाको जासुसी गरे आफूहरूले पनि चीनको जासुसी गर्ने बताए।

गत जुलाई १७ मा इरानले जोर्डनस्थित मुवाफाक सल्ती एयर बेसमा क्षेप्यास्त्र आक्रमण गर्दा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। उक्त आक्रमणअघि र पछि सैन्य अखडाका भू–उपग्रह तस्बिर इरानलाई उपलब्ध गराइएको दाबी गरिएको छ।

तर ‘वाल स्ट्रिट जर्नल’ले उद्धृत गरेका अमेरिकी अधिकारीहरूले तस्बिर उपलब्ध गराउने चिनियाँ संस्थाको नाम सार्वजनिक गरेका छैनन्। चिनियाँ सरकार प्रत्यक्ष रूपमा यसमा संलग्न रहेको आरोपसमेत लगाइएको छैन। चिनियाँ अधिकारीहरूले पनि तस्बिर हस्तान्तरण भएको प्रमाण मागेको र चिनियाँ कम्पनीहरू इरानलाई तस्बिर उपलब्ध गराउन संलग्न रहेको स्वीकार नगरेको समाचारमा उल्लेख छ।

यो घटनाले आगामी २४ सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ह्वाइट हाउस भ्रमणअघि अमेरिका–चीन सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने आकलन गरिएको छ। ट्रम्पले चीनलाई इरानलाई हतियार बिक्री नगर्न चेतावनी दिँदै आएका छन्। अमेरिकाले यसअघि इरानको सैन्य गतिविधिमा सहयोग गरेको आरोपमा चीनमा आधारित तीन भू–उपग्रह कम्पनीमाथि प्रतिबन्धसमेत लगाएको थियो।

चीन इरानको प्रमुख आर्थिक साझेदार हो। उसले इरानबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको छ भने तेहरानलाई कूटनीतिक समर्थनसमेत दिँदै आएको छ। यद्यपि, ट्रम्पले पछिल्लो घटनाबीच पनि चिनियाँ राष्ट्रपति सीसँग आफ्नो सम्बन्ध उचित रहेको बताएका छन्।

सम्बन्धित समाचार