हरितालिका तीजमा पशुपतिमा भक्तजनको घुइँचो

1.3k Shares

काठमाडौं । हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको ठूलो घुइँचो लागेको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा शिव–पार्वतीको पूजा तथा आराधना गर्ने धार्मिक परम्पराअनुसार देशभरका शिवालयमा भक्तजन पुगेका छन्।

तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि नै खोलिएका थिए। दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश गराउन लाम व्यवस्थापनसँगै स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनले बढीमा दुई घण्टाभित्र दर्शन गरेर फर्किन सक्ने गरी व्यवस्थापन मिलाइएको छ भने सामान्य अवस्थामा करिब आधा घण्टामै दर्शन सकिने व्यवस्था गरिएको छ।

तीजमा निराहार व्रत बसेर शिव–पार्वतीको पूजा गरेमा मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति तथा कल्याण हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण बिहानैदेखि पशुपतिनाथसहित विभिन्न शिवालयमा व्रतालुको भीड लागेको हो।

Screenshot 2026-09-14 101019.png

पशुपतिनाथ परिसरमा धार्मिक गतिविधिसँगै तीजको सामाजिक र सांस्कृतिक रौनकसमेत देखिएको छ। पूजा तथा दर्शनपछि महिलाहरू समूह बनाएर तीजका गीतमा रमाउँदै, नाचगान गर्दै र एकअर्कासँग तस्बिर तथा सेल्फी खिच्दै गरेका दृश्य देखिएका छन्।

पछिल्लो समय तीज धार्मिक आस्थासँगै भेटघाट, मनोरञ्जन र सामाजिक अभिव्यक्तिको पर्वका रूपमा पनि मनाउन थालिएको छ। पशुपतिनाथ परिसरमा देखिएको सेल्फी र तस्बिर खिच्नेहरूको चहलपहलले पनि तीज मनाउने शैलीमा आएको परिवर्तनलाई देखाएको छ।

अनलाइनखबरले पशुपतिनाथ परिसरमा तीज मनाइरहेका व्रतालु तथा भक्तजनका विभिन्न दृश्य तस्वीरमार्फत प्रस्तुत गरेको छ।

teej_banner.jpgteej-2083-pasupatinath-(13)-1789356318.jpg

सम्बन्धित समाचार