नयाँ दिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरूले शनिबार भारतीय खानपानसँगै कला र संस्कृतिको विविधताको अनुभव गरेका छन् ।
नयाँ दिल्लीस्थित भारत मण्डपममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यमा आयोजित रात्रिभोजमा शाकाहारी परिकारलाई विशेष प्राथमिकता दिइएको थियो । रात्रिभोजको मेनुमा भारतका विभिन्न क्षेत्रका परम्परागत स्वादसँगै मोटा अनाजबाट तयार गरिएका परिकारलाई विशेष आकर्षण बनाइएको थियो ।
भारतले ‘श्री अन्न’ नाम दिएको मोटा अनाजअन्तर्गत चिनो, कागुनो, कोदो, फापरलगायतका अन्न प्रयोग गरिएका परिकार पाहुनालाई प्रस्तुत गरिएको थियो । चिनोलाई पुलावमा, जुनेलोबाट भारतीय रोटी तथा फापरलाई मिठाईमा प्रयोग गरिएको थियो ।
रात्रिभोजको मेनुमा गुजरातदेखि दक्षिण भारत र पुरानो दिल्लीसम्मका क्षेत्रीय स्वाद समेटिएका थिए । हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय तरकारी तथा विभिन्न परम्परागत मिठाई पनि परिकारमा समावेश थिए ।
रात्रिभोजको सुरुवात गुजरातको परम्परागत परिकार खान्डवी र मशरूम कबाबबाट गरिएको थियो । बेसनबाट तयार पारिएको खान्डवीलाई बाफमा पकाएर राई, नरिवल र करीपत्ताको तड्का दिइएको थियो ।
त्यस्तै, नरम मशरूमबाट तयार गरिएको कबाबलाई पुदिनाका परिकारसँग शीरमाल रोटीमा प्रस्तुत गरिएको थियो । मुख्य भोजनमा पनीर लबाबदार, हिमाली गुच्छी च्याउ, शतावरी, दक्षिण भारतीय गाजर–फली पोरियल तथा तुअर दालबाट तयार गरिएको झोललगायतका परिकार थिए ।
चिनो मिसाइएको पुलाउ र चुकन्दरको रायता पनि मुख्य भोजनको हिस्सा थियो । विभिन्न प्रकारका भारतीय रोटीसमेत पाहुनालाई परोसिएको थियो ।
रात्रिभोजको अन्तिम चरणमा भारतीय परम्परागत मिठाई प्रस्तुत गरिएको थियो । मौसमी फलफूल, क्रिम र जेरीको संयोजन गरिएको ‘दिल्ली फ्रुट क्रिम विथ जेरी’ तथा दूध र चामलबाट तयार गरिएको शहतूत फिरनी विशेष आकर्षण बनेका थिए ।
शहतूत फिरनीलाई शहतूत र सुनको पातले सजाएर प्रस्तुत गरिएको थियो ।
रात्रिभोजमा खानपानसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । भारतसहित ब्रिक्सका सदस्य तथा साझेदार देशका करिब १६० कलाकारले ‘ब्रिक्स सिम्फनी–वन रिदम, मेनी कल्चर्स’ अर्थात् ‘एक लय, अनेक संस्कृति’ शीर्षकमा सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए ।
भारतीय कलाकारहरूले भरतनाट्यम, कुचिपुडी, ओडिसी र कथकलगायतका शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए । विभिन्न भारतीय वाद्ययन्त्र र परम्परागत संगीतसँगै ब्रिक्सका अन्य सदस्य तथा साझेदार राष्ट्रका कलाकारले पनि आफ्नो सांगीतिक परम्परा प्रस्तुत गरेका थिए ।
विभिन्न देशका संगीत शैली र परम्परागत वाद्ययन्त्रलाई भारतीय शास्त्रीय नृत्यसँग जोडेर तयार गरिएको संयुक्त प्रस्तुतिले सांस्कृतिक विविधताको सन्देश दिएको थियो ।
कार्यक्रमको नेतृत्व भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले गरेको थियो । आयोजकका अनुसार विभिन्न सभ्यता र संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै ब्रिक्स सदस्य तथा साझेदार राष्ट्रबीच सांस्कृतिक सम्बन्ध थप बलियो बनाउनु कार्यक्रमको उद्देश्य थियो ।
ब्रिक्स शिखर सम्मेलनको रात्रिभोज औपचारिक कूटनीतिक भेटघाटसँगै भारतको क्षेत्रीय विविधता, परम्परागत खानपान र सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसरसमेत बनेको छ ।
गुजरातको खान्डवीदेखि हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय परिकार र पुरानो दिल्लीका मिठाईसम्मलाई एउटै मेनुमा समेटेर भारतले आफ्नो विविध खानपानको परिचय अन्तर्राष्ट्रिय पाहुनासमक्ष दिएको छ ।
त्यस्तै, विभिन्न देशका कलाकार र भारतीय शास्त्रीय नृत्यको संयुक्त प्रस्तुतिले ब्रिक्सलाई आर्थिक तथा राजनीतिक सहकार्यको मञ्च मात्र नभई बहुसांस्कृतिक सम्बन्ध र जनस्तरको सहकार्य विस्तार गर्ने माध्यमका रूपमा समेत प्रस्तुत गरेको छ ।