मध्यावधि निर्वाचनलगत्तै इरानसँगको युद्ध सकिने ट्रम्पको दाबी

2k Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलगत्तै अन्त्य हुन सक्ने दाबी गरेका छन् । बिहीबार सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले इरान लामो समयसम्म युद्ध जारी राख्न सक्ने अवस्थामा नरहेको बताएका हुन् । उनले युद्धका कारण प्रभावित तेल बजारबारे समेत चर्चा गर्दै त्यस अवधिसम्म तेलको मूल्यमा उल्लेख्य गिरावट आउने अपेक्षा नरहेको बताए ।

ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ, निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने उनीहरू (इरान) अब धेरै समयसम्म टिक्न सक्दैनन् ।’

ट्रम्पको यस्तो भनाइ टेक्सासमा रिपब्लिकन पार्टीको पहिलो मध्यावधि सम्मेलन हुनुअघि आएको हो । नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै रिपब्लिकन पार्टीका नेताहरूलाई एकजुट बनाउने र पार्टीभित्र चुनावी उत्साह बढाउने प्रयास भइरहेका बेला ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने सम्भावना सार्वजनिक गरेका हुन् ।

इरानविरुद्धको युद्धलाई लिएर ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट समेत दबाब बढिरहेको बताइएको छ । युद्ध लामो समयसम्म जारी रहँदा अमेरिकी राजनीतिक वृत्तमा त्यसको प्रभावबारे बहस बढेको छ ।

यसबीच विभिन्न सर्वेक्षणमा ट्रम्पको लोकप्रियतामा समेत गिरावट देखिएको शिलापत्रले जनाएको छ । यस्तो अवस्थामा नोभेम्बरको मध्यावधि निर्वाचन ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

ट्रम्पले भनेजस्तै निर्वाचनपछि युद्ध अन्त्य हुन्छ वा हुँदैन भन्ने विषय भने इरान–अमेरिका सम्बन्ध, युद्धको अवस्थिति तथा आगामी कूटनीतिक पहलमा निर्भर रहनेछ ।

सम्बन्धित समाचार