काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाले दुःख व्यक्त गरेको छ। नेपालमा विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाली संसदमा प्रधानमन्त्रीले सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले बाढीपहिरोमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालले भोगिरहेको दुःखमा अस्ट्रेलिया साथमा रहेको बताएका छन्।
उनले विपद्को यस कठिन समयमा नेपाली नागरिकलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउनुपर्ने उल्लेख गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा अस्ट्रेलियाको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालमा आएको प्राकृतिक विपद्ले ठूलो मानवीय क्षति पुर्याउनुका साथै विभिन्न भौतिक संरचना र पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहँदा अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग र ऐक्यबद्धता व्यक्त भइरहेको छ।
अस्ट्रेलियाली संसदमा गरिएको उक्त सम्बोधनलाई विपद्को समयमा नेपाल र अस्ट्रेलियाबीचको मानवीय सम्बन्ध तथा सहयोगलाई थप बलियो बनाउने सन्देशका रूपमा हेरिएको छ।