पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध, खुल्न केही दिन लाग्ने

1k Shares

सुर्खेत । अविरल वर्षासँगै पहिरो खसेपछि कर्णाली राजमार्गका विभिन्न खण्डमा यातायात प्रभावित भएको छ । आइतबार साँझदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै कतिपय ठाउँमा सडकमा क्षति पुगेको छ ।

पहिरो पन्छाउने र क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको भए पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरिएको छ । सडक खुलाउने काम तीव्र पारिए पनि कतिपय स्थानमा सडक नै क्षतिग्रस्त भएकाले तत्कालै सबै ठाउँमा यातायात सहज बनाउन कठिन रहेको उनले बताए ।

वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिमसमेत कायमै रहेको प्रशासनले जनाएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याए पनि पुनः पहिरो खस्न सक्ने भएकाले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म सावधानी अपनाउन आग्रह गरिएको छ ।

यात्रु र मालवाहक सवारीलाई सावधानी अपनाउन आग्रह

राजमार्ग अवरुद्ध भएपछि जुम्ला तथा कर्णालीका अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन् । सडकको अवस्था यकिन नगरी यात्रा गर्दा बीच बाटोमै सवारी रोकिएर समस्या हुन सक्ने भएकाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर मात्रै यात्रा तथा मालसामान ढुवानी गर्न आग्रह गरेका छन् । कुन स्थानमा यातायात सञ्चालन भइरहेको छ र कुन स्थानमा अवरोध छ भन्ने जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न उनले अनुरोध गरेका हुन् ।

पहिरो हटाउन मेसिन र जनशक्ति परिचालन

अवरुद्ध सडकखण्डमा पहिरो हटाउन सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले आवश्यक मेसिन र जनशक्ति परिचालन गरेका छन् । पहिरो पन्छाउनेसँगै क्षतिग्रस्त सडकको अवस्था हेरेर मर्मतको कामसमेत अघि बढाइएको छ ।

तर, कतिपय ठाउँमा माथिबाट निरन्तर ढुंगा–माटो खसिरहेको र सडक नै क्षतिग्रस्त भएकाले काम चुनौतीपूर्ण बनेको छ ।

कर्णाली राजमार्गको दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको सडकखण्डका विभिन्न स्थान पहिरोको जोखिममा छन् । गगनेखोला, पिली, मोल्फा र एस मोडलयायतका क्षेत्रमा विगतमा पनि पहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ । विशेषगरी लामो दूरीका मालवाहक सवारीसाधनले बीच बाटोमा लामो समय रोकिनुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वजानकारी लिएर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

राजमार्ग सञ्चालनका लागि सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय भइरहेको छ । सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको र अवस्था सामान्य भएपछि नियमित रूपमा यातायात सञ्चालन हुने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार