फकल्यान्ड टापुमा अर्जेन्टिनाको दाबी चर्किँदै, ट्रम्पको भूमिकामाथि चासो

3.5k Shares

काठमाडौँ । बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवादको विषय बन्दै आएको फकल्यान्ड टापु (अर्जेन्टिनामा माल्भिनास) माथि अर्जेन्टिनाको दाबी पुनः चर्किएको छ। अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईले टापुहरू अर्जेन्टिनाकै भएको दाबी दोहोर्‍याउँदै यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिँदो धारणा महत्त्वपूर्ण हुन सक्ने संकेत गरेका छन्।

राष्ट्रपति मिलेईले यसै साता राष्ट्रका नाममा गरेको सम्बोधनमा फकल्यान्ड टापुको इतिहास अर्जेन्टिनाको दृष्टिकोणबाट प्रस्तुत गर्दै ती टापुहरू ‘वैधानिक रूपमा अर्जेन्टिनाको स्वामित्वमा रहेको’ दाबी गरे। उनका अनुसार सन् १८३३ मा बेलायतले अर्जेन्टिनाबाट बलपूर्वक टापु आफ्नो नियन्त्रणमा लिएको थियो।

तर, बेलायतको दृष्टिकोण भने फरक छ। १७औँ र १८औँ शताब्दीमा युरोपेली शक्तिहरूबीच पटक–पटक नियन्त्रण परिवर्तन भएको फकल्यान्ड टापुमा बेलायतले पुनः नियन्त्रण कायम गर्दा त्यहाँ स्थायी बस्ती नरहेको बेलायती पक्षको तर्क छ। अर्जेन्टिनाले स्थापना गरेको बस्ती त्यसको दुई वर्षअघि नै अमेरिकी कारबाहीपछि हटाइएको थियो।

ट्रम्पको धारणाले बढायो चासो

अमेरिकी राष्ट्रपति ट्रम्पले फकल्यान्ड टापुका विषयमा अमेरिकाको परम्परागत नीतिको ‘पुनर्मूल्यांकन गरिरहेको’ बताएपछि मिलेईले अर्जेन्टिनामा ‘परिवर्तनका हावा’ चल्न थालेको बताएका छन्।

सन् १८३१ मा स्थानीय माछा मार्ने तथा समुद्री जीवको शिकारसम्बन्धी अधिकारलाई लिएर विवाद बढेपछि अमेरिकी युद्धपोत यूएसएस लेक्सिङ्टनले टापुमा स्थापना गरिएको किल्ला ध्वस्त पारेको थियो। त्यसपछि अर्जेन्टिनाले स्थापना गरेको बस्ती हटाइएको थियो।

यद्यपि, दुई शताब्दीअघि अर्जेन्टिनाको बस्ती हटाउन अमेरिकाको समेत भूमिका रहेको भए पनि अहिले अमेरिकी नीति नै अर्जेन्टिनाको दाबीलाई बलियो बनाउने महत्त्वपूर्ण कारक बन्न सक्ने राष्ट्रपति मिलेईको विश्वास छ।

अमेरिकाले परम्परागत रूपमा फकल्यान्ड विवादमा तटस्थ नीति अपनाउँदै आएको छ। यद्यपि, अमेरिकाले टापुमाथि बेलायतको शासनलाई मान्यता दिँदै आएको छ। सन् १९८२ को फकल्यान्ड युद्धका क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई भौतिक तथा अन्य सहयोग उपलब्ध गराएका थिए।

तर, ट्रम्पको पछिल्लो धारणा भने केही फरक देखिएको छ। बेलायत सरकारले इरानविरुद्धको अमेरिकी युद्धमा साथ नदिएको विषयलाई लिएर ट्रम्पले बेलायती प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै बेलायतले आफूलाई सहयोग नगरेको आशय व्यक्त गरेका छन्। फकल्यान्ड बेलायतबाट निकै टाढा रहेको पनि उनले बताएका छन्।

बासिन्दाको मत र घरेलु राजनीति

फकल्यान्डका बासिन्दाले भने सन् २०१३ को जनमतसंग्रहमा झन्डै सर्वसम्मत रूपमा बेलायती अधीनस्थ भूभागकै रूपमा रहन पक्षमा मतदान गरेका थिए। उनीहरूको दृष्टिमा बेलायतसँगको दूरी पनि अमेरिकाको मुख्यभूमि र प्रशान्त महासागरस्थित अमेरिकी भूभाग गुआमबीचको दूरीभन्दा खासै फरक छैन।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले राष्ट्रपति मिलेईलाई थप उत्साहित बनाएको देखिन्छ। आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि घरेलु राजनीतिक दबाबसमेत मिलेईमाथि बढिरहेको छ। उनका पूर्वउपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले राष्ट्रिय सार्वभौमिकताको मुद्दामा आफूलाई अझ कडा पक्षधरका रूपमा प्रस्तुत गर्दै फकल्यान्ड मामिलामा मिलेईको कूटनीतिक दृष्टिकोण कमजोर रहेको आरोप लगाउँदै आएकी छन्।

तेल अन्वेषणले थप चर्कियो विवाद

फकल्यान्डको तटीय क्षेत्रमा रहेको ‘सी लायन’ तेल क्षेत्रको अन्वेषणका लागि आगामी दुई वर्षभित्र दुई ऊर्जा कम्पनी अघि बढ्ने तयारीमा छन्। तीमध्ये इजरायली स्वामित्वको नाभिटास पेट्रोलियम र बेलायतको रकहपर एक्सप्लोरेसन रहेका छन्।

मिलेईले आफ्नो सम्बोधनमा अर्जेन्टिनाको समुद्री क्षेत्रमुनि रहेको तेल भण्डार विदेशी कम्पनीले उपयोग गर्न नदिने बताएका छन्। अर्जेन्टिनाले ‘हात बाँधेर बस्न नसक्ने’ उनको चेतावनी छ।

आगामी दिनमा अमेरिकी भूमिकामाथि नजर

मिलेईले अमेरिकासँग अर्जेन्टिना विश्वसनीय र भरपर्दो साझेदार भएको दाबी गरेका छन्। वैचारिक र व्यक्तिगत रूपमा समेत उनी र ट्रम्पबीच निकट सम्बन्ध रहेको बताइन्छ।

ट्रम्प र मिलेईले अमेरिकी महादेशमा आफूअनुकूल राजनीतिक नेतृत्व स्थापित गर्ने दृष्टिकोण साझा गर्दै आएका छन्। ट्रम्पले यसलाई ‘डन–रो डक्ट्रिन’ भन्ने गरेका छन्, जुन १९औँ शताब्दीको ‘मोनरो डक्ट्रिन’ माथिको शब्दखेल हो।

यस नयाँ साझेदारी र अमेरिकी महादेशमा प्रभाव क्षेत्रको पुनर्संरचनाको सम्भावनाबीच ट्रम्पले बेलायती प्रधानमन्त्रीभन्दा अर्जेन्टिनाका राष्ट्रपति मिलेईलाई प्राथमिकता दिन सक्ने सम्भावनाबारे समेत चर्चा हुन थालेको छ।

त्यसैले आगामी महिनाहरूमा फकल्यान्ड विवादमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न अमेरिकी राष्ट्रपति ट्रम्पको ‘डन–रो डक्ट्रिन’ र बेलायत–अमेरिकाबीचको लामो समयदेखिको ‘विशेष सम्बन्ध’मध्ये कुन पक्ष बढी प्रभावशाली हुन्छ भन्ने नै हुनेछ।

सम्बन्धित समाचार