काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको समूह चरणको खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो। जितसँगै नेपाल समूहको शीर्ष स्थानमा रहेको छ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गरेको थियो। यसअघि मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १–१ विकेट लिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ३ विकेटले पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपालको सेमिफाइनल यात्राको सम्भावना बलियो बनेको छ। समूह चरणमा नेपालले अब साउदी अरेबिया र हङकङसँग खेल्न बाँकी छ।
एसीसी प्रिमियर कपको समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको विजेताले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ।