ड्रोन तस्वीरसहित चिनियाँ जलस्रोत मन्त्रालयको चेतावनी : हिमचट्टान अझै भत्किन सक्ने जोखिम

1.1k Shares

१६ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी निम्त्याएको हिमचट्टान तथा हिमनदीको भत्काइपछि पनि जोखिम पूर्ण रूपमा टरेको छैन। चीनको जलस्रोत मन्त्रालयले छोचेन खोलामा बनेको प्रभाव क्षेत्र (इम्प्याक्ट क्रेटर) वरपरका हिमचट्टान अझै भत्किन सक्ने चेतावनी दिएको छ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै उक्त क्षेत्रमा हिमनदी वा हिमखण्ड थप भत्किएमा ठूलो जोखिम निम्तिन सक्ने जनाएको हो। मन्त्रालयले ड्रोन तथा रिमोट–सेन्सिङ प्रविधिबाट क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार ग्यिरोङ काउन्टीमा हिमचट्टान तथा पहिरोसँगै थप लेदोयुक्त बाढीको सम्भावनाबारे पनि निरन्तर अध्ययन र अनुगमन भइरहेको छ। यसका लागि सम्बन्धित क्षेत्रमा परामर्श तथा जोखिम मूल्यांकनको काम जारी राखिएको छ।

यसैबीच, रिमोट–सेन्सिङ विश्लेषणबाट ग्यिरोङ साङ्पो नदी बेसिनमा रहेका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन नदेखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्। ती हिमताल हाल तुलनात्मक रूपमा स्थिर अवस्थामा रहेको जनाइएको छ।

गत २६ अगस्टमा हिमचट्टान र बरफको ठूलो भाग भत्किएर नदीमा खसेपछि लेदो, ढुंगा र पानीसहितको भीषण बहाव आएको थियो। त्यसको प्रभाव नेपालतर्फ भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रारम्भिक अध्ययनहरूले हिमचट्टान खस्दा नदी थुनिएर अस्थायी ताल बनेको र त्यसपछि बाँध फुट्दा विनाशकारी बाढी आएको देखाएका छन्।

चिनियाँ अधिकारीहरूले यसअघि पनि सम्भावित दोस्रो विपद्को जोखिमलाई ध्यानमा राखेर ड्रोन, राडार तथा उपग्रहबाट चौबीसै घण्टा निगरानी गरिरहेका बताएका थिए। पछिल्लो मूल्यांकनले जोखिम केही क्षेत्रमा घटेको देखाए पनि अस्थिर हिमचट्टान र पहिरोका कारण थप घटना हुन सक्ने सम्भावना भने कायम रहेको छ।

यसले नेपालतर्फ पनि सीमा आसपास तथा भोटेकोशी–त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता कायमै राख्नुपर्ने देखिएको छ। विशेषगरी माथिल्लो क्षेत्रमा थप हिमचट्टान खसेर नदी थुनिएमा वा थुनिएको पानी एक्कासि बगेमा पुनः आकस्मिक बाढी आउन सक्ने जोखिम रहन्छ।

 
 
सम्बन्धित समाचार