पानी नपर्दा सुक्दै धानबाली, उत्पादन घट्ने जोखिम

1k Shares

सप्तरी । सप्तरीमा तीन सातायता वर्षा नहुँदा धानबालीमा पानीको अभाव देखिन थालेको छ। धान रोपाइँ सम्पन्न गरी उत्पादनको प्रतीक्षामा रहेका किसान खेतमा जमेको पानी सुक्दै गएपछि बाली कसरी जोगाउने भन्ने चिन्तामा परेका छन्।

आकाशमा बादल देखिएपछि पानी पर्ने आशामा रहेका किसान समयमै वर्षा नभए धानबाली सुक्दै जाने र उत्पादनमा प्रत्यक्ष असर पर्ने बताउँछन्। कृषि ज्ञान केन्द्र सप्तरीले पनि अबको केही दिनमा वर्षा नभए धानबालीमा पानीको अभाव बढ्ने र उत्पादन घट्ने जोखिम रहेको जनाएको छ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताका अनुसार अहिले धानबाली पूर्ण रूपमा क्षति भइसकेको अवस्था छैन। तर, अबको एक साताभित्र वर्षा नभए खेतमा पानीको अभाव चर्किने र धानको उत्पादन घट्ने जोखिम उच्च रहेको उहाँले बताउनुभयो।

“अहिलेसम्म धानबाली बाँचेको छ। तर, एक हप्ताभित्र पानी परेन भने खेत पूरै सुक्खा हुन्छ र उत्पादन घट्ने जोखिम पनि बढ्छ,” उहाँले भन्नुभयो।

सप्तरीमा ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हरेक वर्ष करिब ६८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ। यस वर्ष भने जिल्लाको शतप्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। त्यसैले अहिलेको खडेरीबाट ठूलो क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित हुने चिन्ता किसानमा बढेको छ।

रुपनी गाउँपालिका–४ का किसान तिलेश्वर मण्डलले तीन सातादेखि पानी नपरेपछि खेतमा रहेको पानी सुक्दै गएको र चर्को घामले धानबालीमा असर पार्न थालेको बताउनुभयो। “धान रोप्दा पानीको समस्या थिएन। अहिले खेतमा पानी नै छैन। आकाशमा बादल देखिए पनि पानी पर्दैन,” उहाँले भन्नुभयो।

रुपनी गाउँपालिका–१ का किसान राजिन्द्र पासमान पनि भदौको दोस्रो साता बितिसक्दा पानी नपरेपछि चिन्तित हुनुहुन्छ। धानबालीलाई आवश्यक समयमा सिँचाइ गर्न नसकिए उत्पादनमा ठूलो असर पर्न सक्ने उहाँको भनाइ छ।

सोही ठाउँका किसान राजाराम ठाकुरले मोटर तथा बोरिङबाट निरन्तर पानी तानेर धानबाली जोगाउन सबै किसानका लागि सम्भव नरहेको बताउनुभयो। “बोरिङबाट सधैँ पानी पटाएर धान जोगाउने अवस्था छैन। अब वर्षा नै चाहिएको छ,” उहाँले भन्नुभयो।

वर्षा अझै केही दिन नहुने हो भने सप्तरीमा धानबालीका लागि सिँचाइको समस्या थप गम्भीर बन्ने र उत्पादनमा समेत असर पर्ने जोखिम देखिएको छ।

सम्बन्धित समाचार