जिउछ्वान । चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट मंगलबार बिहान रकेट प्रक्षेपण गरिएको हो।
बेइजिङ समयअनुसार बिहान १० बजे प्रक्षेपण गरिएको रकेटले अपेक्षाअनुसार काम गर्दै आफ्नो पेलोडलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्याएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। परीक्षणका क्रममा निर्धारित सबै उद्देश्य पूरा भएको र अभियान सफल भएको जनाइएको छ।
‘पालास–१’ मध्यम आकारको दुई चरणमा आधारित तरल इन्धनयुक्त रकेट हो। चिनियाँ निजी अन्तरिक्ष कम्पनी ग्यालेक्टिक इनर्जीले आफ्नै प्रविधिको प्रयोग गरी यसको विकास गरेको हो।
करिब ५२ मिटर लामो र ३.३५ मिटर व्यास भएको रकेटको प्रक्षेपण समयको कुल तौल करिब २८३ टन रहेको कम्पनीले जनाएको छ। यसले न्यून पृथ्वी कक्षमा पाँचदेखि सात टनसम्मको पेलोड पुर्याउन सक्ने क्षमता राख्छ।
ग्यालेक्टिक इनर्जीका अनुसार व्यावसायिक उपग्रहका ग्राहकलाई प्रभावकारी र तुलनात्मक रूपमा कम लागतमा अन्तरिक्षमा पेलोड पुर्याउने उद्देश्यले ‘पालास–१’ विकास गरिएको हो। कम्पनीले यसलाई ग्राहकका लागि सुविधाजनक ‘अन्तरिक्ष एक्सप्रेस’का रूपमा प्रस्तुत गरेको छ।
रकेटको मुख्य प्रणोदन प्रणालीमा कम्पनीले आफ्नै प्रविधिबाट विकास गरेको ‘सीक्यू–५०’ तरल अक्सिजन–केरोसिन इन्जिन प्रयोग गरिएको छ। पहिलो चरणमा यस्ता सातवटा इन्जिन समानान्तर रूपमा जडान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार इन्जिनको संरचना भविष्यमा रकेटलाई पुनः प्रयोग गर्न सकिने प्रविधिलाई ध्यानमा राखेर तयार गरिएको हो। एउटा इन्जिनमा समस्या आए पनि समग्र प्रणालीको सञ्चालनमा कम प्रभाव पर्ने गरी अतिरिक्त सुरक्षा क्षमता राखिएको छ।
परीक्षणका क्रममा इन्जिनले आफ्नो निर्धारित क्षमताको ३२ प्रतिशतदेखि १०५ प्रतिशतसम्मको थ्रस्टमा काम गर्न सक्ने देखिएको छ।
‘पालास–१’ मा संरचना र प्रणोदन प्रणालीलाई एकीकृत रूपमा डिजाइन गरिएको छ। यसमा दुई प्रकारका इन्धन प्रयोग गर्ने सहायक प्रणोदन प्रणाली तथा रकेटमा पर्ने वायुगतिकीय भार कम गर्ने प्रविधिसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।
आवश्यकताअनुसार रकेटमा ‘ईआरओएस–२’ माथिल्लो चरणसमेत जडान गर्न सकिने व्यवस्था गरिएको छ। यसबाट विभिन्न प्रकारका अन्तरिक्ष अभियान तथा व्यावसायिक पेलोड प्रक्षेपणका लागि रकेटको उपयोगिता थप विस्तार गर्न सकिने कम्पनीको भनाइ छ।
‘पालास–१’ को सफल पहिलो उडानले चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा नयाँ रकेट प्रविधिको परीक्षण तथा विकासमा थप प्रगति भएको संकेत गरेको छ। -रासस/सिन्ह्वा