भोटेकोसी बाढीपीडितका लागि अस्ट्रेलियाले सी–१७ए विमानबाट राहत पठाउने

1.7k Shares

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि अस्ट्रेलियाले थप मानवीय सहायता पठाउने भएको छ। अस्ट्रेलियाले राहत सामग्री, विपद् व्यवस्थापनका उपकरण र आवश्यक जनशक्ति बोकेर सी–१७ए ग्लोबमास्टर विमान नेपाल पठाउने तयारी गरेको हो।

अस्ट्रेलिया सरकारले विपद् प्रतिकार्यका लागि थप ३० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ। यससँगै नेपालमा बाढी प्रभावितका लागि अस्ट्रेलियाको कुल सहायता करिब ८० लाख अमेरिकी डलर पुगेको छ।

सी–१७ए ग्लोबमास्टर विमानमार्फत अत्यावश्यक राहत सामग्रीसँगै विपद् प्रतिकार्यमा आवश्यक उपकरण र जनशक्ति ल्याइने अस्ट्रेलियाले जनाएको छ। अस्ट्रेलियाले नेपालमा आफ्नो संकट प्रतिकार्य तथा कन्सुलर सहयोगका लागि टोलीसमेत परिचालन गरेको छ।

नेपालमा भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत वितरणका लागि नेपाल सरकारसँगै विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय निकायले सहयोग बढाइरहेका छन्।

अस्ट्रेलियाले विपद्बाट प्रभावित नेपाली नागरिकका साथै नेपालमा रहेका आफ्ना नागरिकको उद्धार तथा खोजीका लागि समेत आवश्यक सहयोग गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार