ठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
आइतबार बसेको संसदीय दलको बैठकले प्रदेशसभा दलका प्रत्येक सदस्यबाट जनही १५ हजार रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १० जना सांसद छन्। यसअनुसार संसदीय दलका सदस्यहरूबाट संकलन गरिएको रकम बाढीपीडितको राहत तथा उद्धारका लागि प्रयोग हुने उद्धार कोषमा जम्मा गरिनेछ।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईका अनुसार बैठकले भोटेकोसी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
बैठकले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारको उचित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन र प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनालाई विशेष प्राथमिकता दिन नेपाल सरकारसहित सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।
भोटेकोसीमा आएको बाढीबाट रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता नागरिकको खोजी तथा राहत वितरणको काम जारी रहेको छ।