रसुवा बाढीको उद्गमस्थलमा महिनौँदेखि जमिन सरिरहेको थियो : प्राध्यापक शिर्जाई
1.3k
Shares
काठमाडौँ । रसुवामा विनाशकारी बाढी आउनुअघि नै बाढीको उद्गमस्थल नजिकको हिमनदी, बरफ तथा चट्टानी प्रणाली तलतिर सर्ने क्रम देखिएको एक अध्ययनले देखाएको छ।
भर्जिनिया टेकका प्राध्यापक मनुचेहर शिर्जाईले उक्त क्षेत्रका भूउपग्रह तस्वीर विश्लेषण गर्दै जमिन तलतिर सर्ने गति करिब १० मिलिमिटर प्रतिमहिनासम्म पुगेको पाइएको बताएका छन्।
उनले सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्म सेन्टिनेल–१ भूउपग्रहबाट प्राप्त राडार तस्वीरको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन्।
प्राध्यापक शिर्जाईका अनुसार पहिरो जानुभन्दा करिब सात दिनअघिसम्म पनि उक्त क्षेत्रमा महिनौँदेखि जमिन सर्ने क्रम जारी थियो। लामो समयसम्म भइरहेको यस्तो भू–गतिशीलता धान्न नसकेपछि चट्टानी भाग छुट्टिएको हुन सक्ने उनको अनुमान छ।
वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठले पनि यस्तो अध्ययनमा राडारयुक्त भूउपग्रह तस्वीरको विशेष महत्त्व हुने बताएका छन्। उनका अनुसार राडार प्रविधिले बादल छिचोलेर जमिनको सतहमा भइरहेको हलचल तथा परिवर्तन मापन गर्न सक्छ।
मनसुनका बेला नेपालका अधिकांश हिमाली तथा पहाडी क्षेत्र बादलले ढाकिने भएकाले सामान्य भूउपग्रह तस्वीरबाट जमिनको अवस्था अध्ययन गर्न कठिन हुन्छ। तर राडार प्रविधिमा आधारित तस्वीरमा बादलले अवरोध नगर्ने भएकाले जमिनको सूक्ष्म परिवर्तनसमेत पहिचान गर्न सकिने श्रेष्ठले बताएका छन्।
यस अध्ययनले रसुवा बाढीको उद्गमस्थल आसपासको भूभागमा बाढी आउनुअघि नै भू–आकृतिक परिवर्तन भइरहेको संकेत गरेको छ। विज्ञहरूले यस्ता भूउपग्रह तथा राडारबाट प्राप्त तथ्यांकलाई भविष्यमा हिमाली क्षेत्रमा पहिरो तथा बाढीको जोखिम पहिचान र पूर्वसूचना प्रणाली विकासमा उपयोग गर्न सकिने बताएका छन्।