रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

1.3k Shares

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ, इरानका राष्ट्रपति मसुद पेजेस्कियन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरू साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन किर्गिस्तान जाने भएका छन्।

एससीओको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने दुईदिने सम्मेलनमा करिब एक दर्जन राष्ट्रप्रमुख सहभागी हुने कार्यक्रम छ। रुस, चीन, भारत, पाकिस्तान, इरान, मध्य एसियाका चार राष्ट्र र बेलारुस एससीओका सदस्य छन्।

सम्मेलनमा पुटिन, सी, मोदी र पेजेस्कियनसहित पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ सहभागी हुनेछन्। किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभको अध्यक्षतामा पूर्ण बैठक हुनेछ। रुसी राष्ट्रपति पुटिनले सी र पेजेस्कियनसहित अन्य नेतासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको क्रेमलिनका प्रवक्ता युरी उसाकोभले बताएका छन्।

युक्रेन युद्धका क्रममा रुस र इरानबीच सैन्य तथा आर्थिक सम्बन्ध थप बलियो बनेको छ। अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई इरानलाई हतियार उपलब्ध नगराउन चेतावनी दिँदै आएका छन्।

युद्ध र व्यापार तनावबीच सम्मेलन

एससीओले सुरुआतमा आर्थिक तथा क्षेत्रीय सहकार्यमा जोड दिँदै आए पनि पछिल्ला वर्षमा यसको राजनीतिक महत्व बढ्दै गएको छ। रुस र चीनले यस संगठनलाई बहुध्रुवीय विश्व व्यवस्थाको अवधारणा अघि बढाउने महत्वपूर्ण मञ्चका रूपमा प्रयोग गर्दै आएका छन्।

यसपटकको सम्मेलन युक्रेन र इरानसँग सम्बन्धित युद्ध तथा अमेरिका–चीनबीच जारी व्यापार तनावका बीच हुन लागेको हो। अमेरिकाले यसै महिना इरानका व्यापारिक साझेदारमाथि सुन, प्रविधि, डिजिटल सम्पत्ति, उड्डयन तथा समुद्री यातायातलगायत क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ।

इरानी तेलको प्रमुख आयातकर्ता चीनले आफ्नो हितको दृढतापूर्वक रक्षा गर्ने बताउँदै आएको छ। लामो समयदेखि अमेरिकी प्रतिबन्ध झेल्दै आएको इरानले पनि आर्थिक दबाबका कारण आफू नझुक्ने बताएको छ।

सन् २०२३ मा एससीओको सदस्य बनेको इरानले संगठनमा सहभागिताले अमेरिकी तथा युरोपेली प्रतिबन्धको सामना गर्न सहयोग पुग्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञहरूले बताएका छन्। यद्यपि, संकटका बेला यस्ता गठबन्धनले इरानका समस्या समाधानमा सीमित मात्र सहयोग पुर्‍याउने उनीहरूको भनाइ छ।

एससीओले विश्वको करिब ४० प्रतिशत जनसंख्या र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गर्छ। तर सदस्य राष्ट्रहरूबीच विभिन्न विषयमा मतभेदसमेत छन्।

सम्बन्धित समाचार