काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरो र पहिरोका कारण बनेको तालको क्षेत्रफल करिब १४ वटा फुटबल मैदान बराबर रहेको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ।
चिनियाँ जलस्रोत मन्त्रालयको तथ्यांक उद्धृत गर्दै चिनियाँ टेलिभिजनले शनिबार बिहानसम्म उक्त तालको सतह क्षेत्रफल करिब ९९ हजार वर्गमिटर रहेको जनाएको हो। यो क्षेत्रफल २७ अगस्टको तुलनामा २१ हजार वर्गमिटरले घटेको बताइएको छ।
तालको पानी बिस्तारै बाहिर बग्न थालेपछि यसको क्षेत्रफल घटेको र ताल फुटेर ठूलो बाढी आउने जोखिम पनि केही कम भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। भूउपग्रहबाट प्राप्त तस्वीरमा तालको केही भागमा पानी घटेर जमिनसमेत देखिन थालेको जनाइएको छ।
यसअघि उक्त क्षेत्रमा हिम–चट्टान खसेर नदीको बहाव अवरुद्ध भएपछि ताल बनेको थियो। ताल फुट्न सक्ने सम्भावनालाई लिएर नेपाल र चीन दुवैतर्फ चिन्ता बढेको थियो। ताल आसपासको अवस्था निरन्तर निगरानीमा राखिएको छ।
चिनियाँ अधिकारीहरूले जोखिम घटेको बताए पनि त्यही क्षेत्रमा अर्को ठूलो जलाशयसमेत देखिएको र त्यसको निगरानी जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
गत बुधबार नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीले रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। त्यसपछि सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।