काठमाडौँ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर (करिब १४ करोड ७५ लाख रुपैयाँ) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको राहत तथा मानवीय कार्यमा सहयोग पुर्याउन उक्त आर्थिक सहायता उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्।
राष्ट्रपति दिसानायकेले बाढी तथा पहिरोका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति श्रीलंकाका तर्फबाट समवेदना प्रकट गरेका छन्।
नेपाल र श्रीलंकाबीचको लामो समयदेखिको मित्रता र ऐक्यबद्धता स्मरण गर्दै उनले विपद्को यस कठिन घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्। श्रीलंकाले उपलब्ध गराउने आर्थिक सहयोग बाढी तथा पहिरोबाट प्रभावित समुदायको तत्काल राहत र मानवीय सहायतामा प्रयोग गरिने जनाएको छ।
यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा उनले नेपालप्रति समवेदना, निरन्तर समर्थन र ऐक्यबद्धता व्यक्त गरेको श्रीलंकाको मन्त्रालयले जनाएको छ।